प्रस, काठमाडौं, २२ साउन/
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वच्छ, सक्षम, निष्पक्ष, जनउत्तरदायी शासन व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
मङ्गलवार सङ्घीय संसद्को राज्य व्यवस्था समितिको बैठकमा ओलीले संविधानले गरेको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताए । यसबाट नै देशमा विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने कुरामा सरकार स्पष्ट रहेको ओलीले बताए । त्यसको लागि भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न आवश्यक रहेको ओलीले बताए ।
नेपाललाई समृद्ध बनाउन र नेपाली जनतालाई सुखी बनाउनका निमित्त भ्रष्टाचार तगारोका रूपमा रहेको ओलीले बताए । “हामी समृद्ध देश बनाउने र देशका जनतालाई सुखी बनाउने दिशामा अगाडि बढिरहेका छौं, यस दिशामा खतरनाक तगारो भनेको भ्रष्टाचार हो,” ओलीले भने ।
ओलीले कर लगाएर मात्रै नहुने बताउँदै कर छली रोक्नु पनि त्यत्तिकै जरुरी रहेको बताए । भ्रष्टाचारका विभिन्न रूपको पहिचान गरी त्यसलाई नियन्त्रण गर्न सरकार दृढ रहेको ओलीले बताए । “कसैले कसूर ग¥यो भने मुख हेरेर, अनुहार हेरेर कसूरमा क्षमा गर्ने यो काम सरकारले गर्दैन,” उनले भने ।
अहिलेको सरकार प्रतिशोधका लागि नबनेको पनि ओलीले प्रस्ट पारे । “सरकार अर्थतन्त्रमा सुधार विकासमा गति ल्याउनको लागि हो, त्यस कारण यसले कसैप्रति आग्रह, पूर्वाग्रह राख्ने, कसैप्रति अनावश्यक, अनुचित, झूटा कुराहरू उछाल्ने र कसैलाई दुःख दिने खालका पनि गर्दैन भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु, कसैलाई दुःख दिने यो सरकारको मनसाय छैन,” ओलीले भने ।
ओलीले कानूनमा सबै बराबर हुने भएकोले सरकारले कसैले गलती ग¥यो भने नछाड्ने पनि स्पष्ट पारे ।
ओलीले विभिन्न कारणले मानिसहरूमा ‘फ्रस्टेसन’ आउने बताउँदै नागरिकमा देखिएको निराशा चिर्न लाग्नुपर्ने बताए । लोकतन्त्रको संस्थागत विकाससँगै समृद्धिका कामबाट यो निराशा चिर्न सकिने उनको भनाइ छ ।