काठमाडौं, २२ साउन/रासस
नेपाल सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला नेशन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको दास्रो सेमिफाइनल खेलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा समूह चरणको हारको बदला लिंदै नेपालले इरानविरुद्ध शानदार जीत दर्ता ग¥यो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले इरानलाई २५–२१ ले पराजित ग¥यो । इरानसँग १–५ ले पछि परेको अवस्थाबाट लगातार पाँच अङ्क जोड्दै नेपालले अग्रता लिएको थियो । खेलको दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । एक समय १५–९ को अग्रता बनाएको नेपाल अन्त्यतिर २१–२४ ले पछि परेको थियो । त्यसपछि नेपालले लगातार तीन अङ्क जोड्दै खेललाई बराबरीमा ल्यायो र अन्ततः नेपालले इरानमाथि २८–२६ को जीत निकाल्यो ।
खेलको तेस्रो सेट भने नेपालले २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितमा नेपाल अङ्कतालिकाको दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए ।
यसअघि भएको लिग चरणको दोस्रो खेलमा इरानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । सोही हारको बदला लिंदै नेपालले प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गर्न सफल भयो ।
लिग चरणको खेलमा नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सेट र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । लिग चरणमा भारतसँग ३–१ को सेटमा पराजय बेहोरेको इरानले श्रीलङ्कालाई ३–२ तथा माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो ।
जीतपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले अघिल्ला खेलमा भएका कमीकमजोरीलाई सुधार गर्दै इरानलाई पराजित गर्न सफल भएको बताए ।
बुधवार हुने फाइनलमा नेपाल भारतविरुद्ध लिगचरणमा निकालेको जीतलाई निरन्तरता दिने उद्देश्यका साथ उत्रनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भट्टले भारतविरुद्ध यस अघिको जीतलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरे । उनले भने, “आज इरानविरुद्धको खेलमा तीन सेटमा खेलेकाले भोलि पनि तीनै सेटमा भारतलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य लिएका छौं ।”