टुटेश्वर नाथमा दण्डीबमले गरे जलार्पण

प्रस, महोत्तरी, २० साउन/

महोत्तरी जिल्लाको टुटेश्वरनाथ महादेव मन्दिरमा शनिवार बिहान दण्डीबमले जल चढाएका छन् । ‘दोस्रो बाबाधाम’ तथा ‘मधेसको कैलाशधाम’ को नामले प्रख्यात टुटेश्वरनाथ मन्दिरमा दण्डीबमले पूजाआराधना गर्दै जल, गाईको दूध र बेलपत्र चढाएका हुन् ।

दण्डीबमले १८ किलोमिटर दूरी लम्पसार परेर पस्रादै यात्रा गरेका थिए । यात्राको पाचांै दिन उनीहरू टुटेश्वरधाम पुगेका हुन् । दण्डीबमले पाँच दिन पहिले माण्डवीगङ्गा (मड्डा), वरुणमती

(बेलगाछी) र स्वर्णमती (सोनी) नदीको त्रिवेणीबाट जल भरेर यात्रा शुरू गरेका थिए ।

लम्पसार पर्दा हातले जति दूरीमा रेखा खिच्न सकिन्छ, सोही रेखाबाट पुनः लम्पसार परेर अघि बढ्नुपर्ने कठोर यात्रा डण्डीबमले तय गर्छन् । यात्राको क्रममा  नित्यकर्म, विश्राम वा खानपिन गर्नुपर्दा जहाँ रेखा लगाएको हो, सोही रेखाबाट फेरि लम्पसार पर्दै पुन अगाडिको यात्रा शुरू गरिन्छ । टुटेश्वरनाथ आइपुगेका दण्डीबमले बाटोमा चार रात बिताएका थिए ।

यसरी पस्रेर अर्थात् लम्पसार परेर गरिने यात्राका यात्रीलाई ‘दण्डीबम’ भनिन्छ ।

हरेक वर्ष साउन महीनामा टुटेश्वरधाममा दण्डीबमको यात्रा हुँदै आएको छ । यसरी यात्रा गरिंदा इष्टदेवता खुशी हुने, कुल, पितृले आशीर्वाद दिने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । टुटेश्वरनाथमा दण्डीबम यात्रा शुरू भएको यसपटकसमेत ३४ वर्ष पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यो यात्राको सुरुआत गौशाला–४ का दुईजना श्रद्धालु भक्तजनले विसं २०४८ साउन १७ गते गरेका थिए । वासुदेव महतो र ठगा साह दुईजनाले शुरू गरेको यात्राप्रति आस्था राख्ने भक्तजनहरूको सङ्ख्या हरेक वर्ष बढ्दो छ ।

ठगा साहले केही वर्षपछि यात्रा विराम गरे भने महतोले हरेक वर्ष साउनमा यात्रालाई निरन्तरता दिंदै आएका छन् । “यो भक्ति र समर्पणको यात्राले सबै कुरा ईश्वरमा अर्पण गर्न प्रेरित गर्छ । शरीरलाई कष्ट हुने भएपनि मनलाई आनन्द दिन्छ,” यात्रामा सहभागी महतोले बताए । छलकपट, ईष्र्या, द्वेष र लालच त्यागेर यात्रामा सहभागी हुनेले अलौकिक शक्ति तथा ईश्वरको आशीर्वाद प्राप्त गर्न सक्ने र आफूले गरेका भाकलहरू पूरा हुने महतोको भनाइ छ ।

यसपटक टुटेश्वरनाथ महादेवको दण्डीबममा ३० जना श्रद्धालु भक्तजनको सहभागिता थियो । दण्डीबम यात्रा व्यवस्थापनका लागि दण्डी यात्रा सहयोग समिति गठन भएको छ । यात्रामा सहभागीहरू कतिपयले भाकल पूरा गर्न र कतिपयले भक्ति तथा आनन्दको लागि सहभागी भएको बताएका छन् । टुटेश्वरनाथ धामको प्राचीन, धार्मिक र सांस्कृतिक महŒव छ । रामायणकालमा राजा जनकका भाइ कुशध्वजकी छोरी माण्डवी यस क्षेत्रमा विहार गर्न सखीसहेलीका साथ आउने गरेकी रामायण र महाभारतकालीन जनश्रुति रहेको मैथिल क्षेत्रका धर्मगुरूरु एवं संस्कृतिविद्हरूले बताउने गरेका छन् ।

महाभारतकालमा पनि पाँच पाण्डव वनवासका बेला अर्जुनले यही स्थानमा शिवजीको तपस्या गरेर पाशुपतास्त्र प्राप्त गरी दिव्यास्त्रको ज्ञान लिन स्वर्ग गएको किंवदन्ती छ ।

प्राचीन तथा पौराणिक धार्मिकस्थल टुटेश्वरनाथ धामको पुनरुत्थान शुरू भएको भने आठ दशक पुग्दैछ । विसं २००२ सालमा डिठ्ठा गौरीनारायण गिरीले वनफँडानी गरी बस्ती बसाउने क्रममा प्राचीन शिवलिङ्ग, पत्थरको बसाहासहित पुराताŒिवक महŒवका सामग्री फेला पारेका थिए । त्यसपछि मात्रै यसको अध्ययन, अनुसन्धान तथा खोजीनिती थालिएको हो ।

फेला परेका शिवलिङ्ग, बसाहा र अन्य पुराताŒिवक महŒवका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरूले महाभारतकालीन भनेका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्