नेपाल इरानसँग पराजित भएको छ । प्रतियोगितामा यो नेपालको पहिलो हार हो । यस अघि नेपालले श्रीलङ्का र भारतलाई पराजित गरेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा भएको खेलमा इरानले नेपाललाई ३–२ ले पराजित गरेको हो । इरानविरुद्धको खेलमा नेपालको सुरुआत भने राम्रो हुन सकेन । नेपाल पहिलो सेटमा इरानसँग १६–२५ ले पराजित भयो । उक्त सेटमा इरानले १६–१० को अग्रता बनाएपछि नेपाल खेलमा फर्कन सकेन ।
दोस्रो सेटमा भने नेपालले उत्कृष्ट सुरुआत गर्दै खेललाई आफ्नो पक्षमा ल्यायो । नेपालले सुरुआतमा ७–० को अग्रता बनाएको थियो । सोही अग्रतालाई जोगाउँदै नेपालले इरानमाथि २५–१६ ले जित्यो र खेललाई एक/एकको बराबरीमा
ल्यायो ।
खेलको तेस्रो सेटमा नेपाल पुनः पराजित हुन पुग्यो । तेस्रो सेटको सुरुआतमा नेपालले ७–२ को अग्रता बनाए पनि यो अग्रतालाई निरन्तरता दिन सकेन । इरानले ९–९ को बराबरीमा पु¥याएपछि यो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्त्यमा इरानले २५–२३ ले जित्यो । खेलको चौथो सेटमा नेपालले संयमित प्रदर्शन ग¥यो । उक्त सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्दै खेललाई दुई/दुईको बराबरीमा ल्यायो ।
त्यसपछिको अन्तिम तथा निर्णायक पाँचौं सेटमा भने नेपाल पराजित भयो । इरानले पाँचौं सेट १५–१३ ले जित्यो । जीतसँगै इरानले चार खेलबाट सात अङ्क बनाएको छ भने नेपालको तीन खेलबाट छ अङ्क छ ।
नेपालले यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ । नेपालसँगै सेमिफाइनलमा इरान, भारत र श्रीलङ्का पुगेका छन् । लिग चरणको अन्तिम खेलमा भोलि नेपालले माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै, भोलि नै हुने अर्को खेलमा श्रीलङ्का र भारतबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।