नेपालका धेरै किसान दुग्ध उत्पादनमा निर्भर छन् । गाउँदेखि शहरसम्म दुधालु जनावरको कमी छैन, त्यसैले यहाँ शुद्ध घ्यू खाने चलन छ । भात, रोटी, जाउलो, दाललगायत खानेकुरामा घ्यू मिसाएर सेवन गरिन्छ । धेरै स्वास्थ्य विशेषज्ञले यसलाई खाना पकाउने तेलको स्वस्थ विकल्प मान्छन् र यसलाई सुपर फूडको दर्जा दिन्छन्, किनभने यो कपालदेखि छालासम्म सबैका लागि फाइदाजनक हुन्छ । तपाईंले प्रायः शुद्ध घ्यू खानुका फाइदाहरूको बारेमा सुन्नुभएको होला, जुन धेरै हदसम्म सत्य हो तर कतिपय अवस्थामा यसको बेफाइदा पनि देखिन्छ । सबैभन्दा पहिले यो सीमित मात्रामा खानुपर्छ र सबैका लागि फाइदाजनक हुन्छ भन्ने पनि छैन । कुन मेडिकल अवस्थामा हामीले शुद्ध घ्यूको सेवन गर्नुहुँदैन, त्यसबारेमा जानकारी राख्नुपर्छ ।
भारतका प्रख्यात पोषणविज्ञ निखिल वत्सले शुद्ध घ्यूको सेवनले कतिपय मानिसलाई हानि पु¥याउन सक्ने बताए । यदि तपाईं ८ देखि १० घण्टा कार्यालयमा बसेर काम गर्नुहुन्छ र शारीरिक क्रियाकलाप गर्नुहुन्न भने शुद्ध घ्यू सेवन गर्नु उचित हुँदैन । उच्च कोलेस्ट्रोलको समस्याबाट ग्रसित व्यक्तिहरूले शुद्ध घ्यूबाट टाढा रहनुपर्छ, किनभने यसले धेरै समस्या निम्त्याउन सक्छ । यदि तपाईं मधुमेहबाट पीडित हुनुहुन्छ भने शुद्ध घ्यू नखानुहोस् किनभने यसले तपाईंको स्वास्थ्यलाई बिगार्न सक्छ ।
यस्ता मानिसका लागि शुद्ध घ्यू फाइदाजनक हुन्छः घण्टौंसम्म कसरत गर्ने वा शारीरिक क्रियाकलाप गर्नेहरूका लागि घ्यू खानु फाइदाजनक हुन्छ । धेरै दौड्ने र हिंड्नुपर्ने काम गर्ने मानिसले शुद्ध घ्यू खानु उचित हुन्छ । पातलो भएका र तौल बढाउन चाहनेहरूका लागि शुद्ध घ्यूको सेवनले इच्छित परिणाम ल्याउन सक्छ ।