डिमेन्सिया यस्तो रोग हो, जसमा मस्तिष्कका कोशिकाहरू बिस्तारै बिग्रन थाल्छन् । जसका कारण सोच्ने, सम्झने र निर्णय लिने क्षमता कम हुन्छ । यो रोग सामान्यतया वृद्धवृद्धामा हुन्छ, तर यो जुनसुकै उमेरमा हुन सक्छ । विश्वमा एउटा यस्तो गाउँ छ, जहाँ हरेक व्यक्ति बिर्सने रोगबाट पीडित छन् ।
यस्तै, एउटा अनौठो गाउँ दक्षिण–पश्चिम फ्रान्समा अवस्थित छ, जसको नाम ल्यान्डिस हो । यस गाउँमा बसोबास गर्ने हरेक व्यक्ति डिमेन्सिया अर्थात् बिर्सने समस्याबाट पीडित छन् । ल्यान्डिस गाउँ एक प्रकारको प्रयोग हो । अल्जाइमरबाट पीडित व्यक्तिहरूमा सबै कुरा सम्झने दबाब कम गर्नाले तिनीहरूको रोग सुधार गर्न सकिन्छ कि भनेर वैज्ञानिकहरू जान्न चाहन्छन् । बोर्डाे युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो प्रयोगको नेतृत्व गरिरहेका छन् ।
यो गाउँको जीवन धेरै सरल छ । यहाँ मानिसहरूले कुनै पनि चिन्ता लिनुपर्दैन । गाउँमा सबैभन्दा जेठो व्यक्ति १०२ वर्षका छन्, जबकि कान्छो व्यक्ति ४० वर्षका छन् । गाउँको बीचमा एउटा सामान्य पसल छ, जहाँ सबै आवश्यक वस्तु निश्शुल्क उपलब्ध छन् । मानिसहरूले पैसा राख्ने चिन्ता लिनुपर्दैन । तिनीहरू स्वतन्त्ररूपमा पसल, रेस्टुरेन्ट र थिएटरहरूमा जान सक्छन् ।
यस गाउँमा बसोबास गर्ने मानिसको रोगमा सुधार आएको अनुसन्धानकर्ताहरूले बताएका छन् । यहाँ बस्ने मानिसहरूका परिवारहरू पनि खुशी छन् किनभने उनीहरूलाई थाहा छ कि आफ्ना प्रियजनहरू सुरक्षित र तनावमुक्त वातावरणमा बाँचिरहेका छन् ।
ल्यान्डिस गाउँ डिमेन्सियाबाट पीडित मानिसहरूका लागि आशाको नयाँ किरण हो । यसले देखाउँछ कि यी व्यक्तिहरूको जीवन सही वातावरणमा बस्दा सुधार गर्न सकिन्छ । यो प्रयोगले वैज्ञानिकहरूलाई डिमेन्सियाको उपचार गर्ने नयाँ तरीकाहरू पत्ता लगाउन मदत गर्न सक्छ ।
ल्यान्डिस गाउँले हामीलाई जीवनमा खुशी हुन धेरै वस्तु आवश्यक पर्दैन भनेर सिकाउँछ । हामीलाई केवल शान्त र तनावमुक्त वातावरण चाहिन्छ । यसले हामीलाई अरूलाई मदत गर्न र तिनीहरूको खुशीमा योगदान गर्नुपर्छ भनेर पनि सिकाउँछ ।