रोम, २० साउन/एएफपी
युरोपेली सङ्घ (इयू)का सात राष्ट्रका नेताहरूले भेनेजुएलालाई ‘निर्वाचन प्रक्रियाको पूर्ण पारदर्शिता र सत्यनिष्ठा’ देखाउन मतदानको विवरण सार्वजनिक गर्न शनिवार आग्रह गरेका छन् ।

फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे ‘कडा चिन्ता’ व्यक्त गरिएको छ ।

राष्ट्रपति निकोलस मदुरोले गत साताको मतदानमा विजयी भएको दाबी गरेका थिए तर विपक्षीले भने एडमुन्डो गोन्जालेज उरुटिया विजयी भएको दाबी गर्दै आधिकारिक नतीजाको विरोध गरेका छन् ।

“हामी भेनेजुएलाका अधिकारीहरूलाई मतदानसम्बन्धी सबै विवरण तत्काल सार्वजनिक गर्न आग्रह गर्छौं,” सात देशका नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भेनेजुएलाका जनताको इच्छालाई मान्यता दिन यस्तो कदम चाल्नु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

“भेनेजुएलाका विशेषगरी विपक्षी राजनीतिक नेता र सबै नागरिकको अधिकारलाई यस प्रक्रियामा सम्मान गर्नैपर्छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी उनीहरूविरुद्ध कुनै पनि गिरफ्तारी वा धम्कीको कडा शब्दमा निन्दा गर्छौं, अधिकारीहरूले जनताको ‘शान्तिपूर्णरूपमा विरोध प्रदर्शन गर्ने र भेला हुने अधिकार’को सम्मान गर्नुपर्छ ।

भेनेजुएलाका हजारौं नागरिकले मदुरोले चुनाव जितेको दाबीलाई चुनौती दिन देशभर भेला भएका बेला उक्त वक्तव्य आएको हो ।

राष्ट्रपतिप्रति वफादार रहेको सिएनई निर्वाचन प्राधिकरणले शुक्रवार मदुरोको विजयलाई अनुमोदन गरेपछि शुरू भएको प्रदर्शनमा ११ जनाको मृत्यु हुनुका साथै एक हजारभन्दा बढीलाई हिरासतमा लिइएको बताइएको छ ।

संयुक्त राज्य अमेरिका र ल्याटिन अमेरिकी छिमेकी अर्जेन्टिना, कोस्टारिका, पानामा, इक्वेडर र उरुग्वेलगायत देशहरूले उक्त नतीजालाई अस्वीकार गरिसकेका छन् ।

भेनेजुएलाको विपक्षी दलले आफ्नो उम्मेदवार गोन्जालेज उरुटिया स्पष्टरूपमा विजयी भएको दाबी गर्दै आएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here