– ओमप्रकाश खनाल

अपराधको राजनीतिकरण कि राजनीतिको अपराधीकरण भन्ने विषय समकालीन अर्थ–राजनीतिमा द्विविधामुक्त छैन। अपराध कर्म गरी सजायबाट जोगिन कुनै न कुनै राजनीतिको फेरो समाउन पुग्नेहरू, जस्तोसुकै अपराधलाई राजनीतिक आवरण ओढाएर उन्मुक्तिको उपाय खोज्नेहरू र राजनीतिमा छिरेर नीति र नियमको छिद्र समातेर वा नियम कानून नै फेरेर अपराध गर्ने र अपराधको दाग मेटाउन तल्लीन हुने प्रवृत्ति समकालीन राजनीतिको विशेषताकै रूपमा स्थापित भइसकेको छ।
राजनीतिक आबद्धता र त्यस्तो राजनीतिले सानै भए पनि सत्ता गणितलाई प्रभाव पार्ने हैसियत राख्ने हो भने अदालतबाट दोषी ठहर भएकालाई पनि सजायबाट उन्मुक्ति दिने जुन खालको अभ्यास स्थापित भइराखेको छ, यसले न्यायको मर्म मरेको छ। राजनीतिमा लागेकाहरूले नीति नियम आफ्नो स्वार्थ अनुकूल बनाउँदै जाने र सकभर त्यसको गतल व्याख्या र दुरुपयोग हुने हो भने यो देश कसका लागि ? आम नागरिकका लागि कि राजनीतिक आवरण ओढेका अपराधीका लागि ? प्रश्न स्वाभाविक रूपमा उठिराखेको छ।

जस्तोसुकै अपराध गरे पनि राजनीतिक खोल ओढेकाहरूलाई हतपत नियम–कानूनले छुन सक्दैन, कानून भनेको त निर्धा र निमुखाका लागि मात्रै हो भन्ने आम मनोविज्ञान यसै बनेको होइन। राजनीति भनेकै जालझेल, धोखाधडी, तिकडम र अपराध कर्मको सम्मिश्रण हो भन्ने परिराखेको छ। अहिलेको राजनीतिमा स्टन्ट र स्वार्थी गठजोडका अघिल्तिर नीति, विचार, सिद्धान्त, निष्ठा, समर्पण र एजेन्डा पराजित भइराखेको छ। राजनीति कि त दुई नम्बरी पैसावालले गर्ने हो, होइन भने स्टन्टबाजहरूको वशको विषय हो भन्ने परेको छ।

कर्म–कुकर्म जेजसरी भए पनि अकुत आर्जन गरेर पहिले आर्थिक हैसियत बनाउने र त्यसपछि राजनीतिमा छिरेर ‘सामाजिक हैसियत र प्रतिष्ठा’ हत्याउने, यही हो समकालीन राजनीतिक सिद्धान्त। स्थानीयदेखि सङ्घीय सत्ता र तिनका उपक्रमहरूमा हामीले चुनेर पठाएका मानिसहरूको अनुहार स्मरण गरौं त, अपवादवाहेक विवादित व्यक्तिहरूकै बाहुल्य र बोलाबाला देखिन्छ। राजनीतिमा राजनीतिक पृष्ठभूमिका मानिसहरू औंलामा गन्न सकिन्छस तस्कर, बदनाम ठेकेदार, दुराचारी, अनेक अपराध ठहर भएका अपराधी र अभियुक्तहरूको वर्चस्व छ।

दोष त्यस्ता व्यक्तिको होइन, जसले हामीमाथि शासन चलाइराखेका छन्। दोष हाम्रो हो, जसले ती पात्रहरूलाई त्यो स्थानमा पु–याउन कुनै न कुनै तरीकाले भूमिका खेल्यौं। आज विज्ञ, बुद्धिजीवी, प्राज्ञिक र सचेत भनिएका व्यक्तिमात्र होइनन्, यस्ता औसत जमात त्यही प्रवृत्तिको बन्धक भइराखेको अवस्था छ। आज कुनै यस्तो एउटा नेता छैन, जसलाई यो मेरो नेता भनेर गर्व सकियोस्। नेता त त्यो हो, जसको नाममात्र उच्चारण गर्दा गर्वले छाती चाक्लो होस्।

यो भयो नीति गायब भएको राजनीतिको कुरा, हुँदाहुँदा अब राजनीतिको यो असङ्गतिले गरिखाने वर्ग भनेर चिनिएको निजीक्षेत्रलाई पनि गाँज्न थालेको भान भइराखेको छ। अहिले सतहमा रहेको डेकिकेटेट र ट्रङ्क लाइनको महसूल विवादमा राजनीति घुसेको आभास भइराखेको छ। सरकारले पटकपटक छानबीन आयोग बनाएर निकासको बाटो पहिल्याइसकेको विषयलाई अहिले राजनीतिक आग्रहका आधारमा गिजोल्ने काम भइराखेको छ। राजनीतिक आवरणमा अपराधले आक्रान्त अर्थ–सामाजिक परिवेशमा यो नयाँ सकसको अध्यायको रूपमा स्थापित हुने सङ्केत देखिएको छ।

जनतालाई १८ घण्टा अँध्यारोमा राखेर सीमित व्यापारीलाई चर्को मूल्यमा दिइएको बिजुलीको महसूल मिनाहा गरिदिने खेलमा सत्ताको नेतृत्व गरिराखेको नेकपा एमाले हात धोएर लागेको प्रधानमन्त्रीदेखि दलीय नेताहरूको अभिव्यक्ति र आचरणबाट पुष्टि भइआएको छ। हो, कुनै पनि उद्यमीबाट अन्यायपूर्ण तरीकाले महसूल तिराउनु हुँदैन, त्यसको आधार प्रमाणका भरमा निरुपण खोजिनुपर्दछ। तर, फरक राजनीतिले सत्ता नेतृत्व गरेका बेला भएको निर्णय हो भन्ने पूर्वाग्रहकै आधारमा सोलोडोलो उन्मुक्तिको तानबाना बुनिएको भान भइराखेको छ। त्यो आमजनतासँग गद्दारी हो।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगहरूमा दिएको डेडिकेटेट र ट्रङ्क लाइनको विद्युत् महसूलको प्रमाणसहितको विवरण ५ दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ। अघिल्लो सरकारले बनाएको छानबीन आयोगको सुझावमा २०७२ सालदेखि २०७५ वैशाखसम्मको महसूल लिने सुझाव दिएको र त्यसलाई मन्त्रिपरिषद्ले पारित गरिसकेको अवस्थामा त्यो निर्णयको स्वामित्व लिनुको सट्टा गिजोल्ने काममा उद्यत देखिएको छ। यसमा सत्ताको नेतृत्व गरिराखेको दल नेकपा एमालेका सांसदहरूको भूमिका अग्रस्थानमा छ।
प्राधिकरणको नेतृत्वले प्रधानमन्त्रीको मौखिक आदेश नमानेकै कारण सृजित आक्रोशित मनोविज्ञानले राज्यलाई अर्बौं रुपियाँ घाटा भिराउने खेल भइराखेको छ। यो ‘सौताको रिसले लोग्नेको काख फोहोर’ पारेजस्तै हो। आग्रहकै आधारमा आर्थिक अवयव र राज्यको आयस्रोतलाई गिजोल्दै जाने हो भने राजनीतिक बेथिति र अदूरदर्शिताले थलिएको सामाजिक सरोकारमा आर्थिक सङ्कटको आयाम पनि थपिने कुरामा कुनै शङ्का आवश्यक छैन।

आज कामगरी खाने वर्ग अपमानित, प्रताडित हुने, राजनीतिको आवरणमा राज्य शक्ति र स्रोतको दुरुपयोगमा मग्न झुन्डहरू समाजमा सम्मानित हुने अवस्था छ। सम्भवतः यही दृश्यले लोभिएर हुन सक्दछ, आज हरेकजसो ठूला औद्योगिक व्यापारिक घराना राजनीतिमा प्रत्यक्षरूपमा सहभागी भएको अवस्था छ। उनीहरूको राजनीतिक यात्राको औचित्य के ? राजनीतिक निकटतालाई आफ्नो व्यापार–व्यवसायका लागि दुरुपयोग गर्ने प्रवृत्ति सतहमैं देखिएको छ। पहिले गुपचुप हुने कर र राजस्वका दरका चलखेल अहिले खुलेआम भइराखेका छन्। यो राजनीतिमा निजी क्षेत्र प्रत्यक्ष सहभागिताको खराब दृश्यको उदाहरणमात्रै हो। नीति नियम नै फेरेर अमुक व्यापारिक घरानालाई लाभ दिने खेलको योजनाकार ठानिएका व्यक्तिले आज सत्ताको नेतृत्व गरिराखेको अवस्थामा यो राजनीतिबाट के र कस्तो खालको विधिको शासनको अपेक्षा राख्न सकिएला ?

आज राजनीति, व्यापार व्यवसायभन्दा, सहज कमाउ–धन्धा बनेको छ। मन्त्रीले गर्ने निर्णयदेखि पदस्थापनसम्मका दररेट बजारमा छ्याप्छ्याप्ती देखिन्छन् भने त्यस्तो नेतृत्वबाट कस्तो काम होला ? स्वाभाविक छ, जसरी भए पनि कमाऊ, त्यही कमाइ चुनावमा खर्च गरेर सत्तामा उक्ल। यही एकल अभीष्ट आज राजनीतिको पर्याय बनेको छ।

राजनीतिमा कुनै योग्यता–दक्षता चाहिंदैन। पैसा खर्च गर्ने सामथ्र्य भए पुग्छ। एक समय थियो राजनीतिका लागि त्याग, बलिदान, समर्पण, योगदान चाहिन्थ्यो। अब राजनीतिमा पस्न पैसा चाहिन्छ, स्टन्टमा पोख्त हुनुपर्दछ। राजनीतिकरूपमा जति नै योग्य व्यक्ति भए पनि पैसामा कमजोर भए उसलाई उसकै पार्टीले पत्याउँदैन। उसको भागको टिकट कुनै विवादास्पद व्यापारी, तस्कर र ठेकेदारको हातमा पुग्छ। राजनीतिमा जीवनको ऊर्जाशील समय रित्याएको राजनीतिकर्मी नवप्रवेशी पैसावालको झोला बोक्न अभिशप्त भइराखेको छ, अहिलेको राजनीतिको बिझाउने सत्य यही हो।
राजनीति त व्यापारभन्दा पनि उत्तम कमाउ–धन्धा बनेको छ। राजनीतिक पृष्ठभूमि (चाहे त्यसको पृष्ठभूमि हत्या र हिंसाले लतपतिएकै किन नहोस्) बाट उदाएको दाबी गर्नेहरूको आलिशान र भव्य जीवनशैली हेर्दा नवसामन्तको झल्को आइराखेको छ। महाराजाहरूलाई सामन्त देख्नेहरूले हुर्काइराखेको परिवार र नातावादको अगाडि राजनीति लाजले निहुरिएको छ।

राजनीतिको आडमा जस्तै कुकृत्य गरे पनि सदर हुने र त्यसको बचाउमा सत्ता र शक्तिको चरम दुरुपयोगको दृश्य सामान्यजस्तो लाग्न थालेको छ। जसको हातमा सत्ता र शक्ति छ, त्यो बेला उसले दुरुपयोग–दोहन गर्नु स्वाभाविकै हो भन्ने पर्न थालेको छ। यसरी राजनीतिको आडमा हुने अपराधको समान्यीकरण हुनु सामान्य कुरा होइन। यसलाई समाकालीन समाजले सामान्य प्रक्रियाको रूपमा ग्रहण गर्नु भनेको हामी विधि र प्रक्रियाको होइन, जङ्गलराज र पाशविक परिवेशतर्फ उन्मुख भइराखेको सङ्केत हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here