प्रस, जनकपुरधाम, १८ साउन/
भोगेन्द्र ठाकुरको हत्याविरुद्ध आन्दोलित मिटरब्याज पीडित सङ्घर्ष समिति र स्थानीय प्रशासनबीच शुक्रवार आठ बुँदे सहमति भएको छ ।
हत्या आरोपित मिटरब्याजी शिवजी यादव, मुकेश मुखियालगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्ने, मृतक ठाकुरलाई मिटरब्याज पीडित शहीद घोषणा गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई निश्शुल्क शिक्षाको व्यवस्था गर्ने, मिटरब्याजसम्बन्धी उजूरी उपर सुनुवाइ गर्ने, मृतक ठाकुरकी पत्नी श्यामुकुमारीलाई निश्शुल्क उपचार र रोजगारको व्यवस्था मिलाउने, किरिया खर्च दिने, नाबालक दुईजना छोरीको पालनपोषण एवं विश्वविद्यालयसम्मको निश्शुल्क शिक्षाको लागि सङ्घीय सरकारको गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय, धनुषाले जनाएको छ ।
सहमतिका अन्य बुँदाहरूमा मृतकको मिटरब्याजसम्बन्धी मुद्दामा कानून बमोजिम छिटोछरितो समाधान गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, मृतकको परिवारलाई जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउने र आन्दोलनरत पक्षले मृतकका विषयमा सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको कार्यालयले जनाएको छ । सो सहमतिलाई मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले पुष्टि गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष पासवानले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको बताए । सहमति कार्यान्वयन नभए पुनः आन्दोलन चर्कने उनले चेतावनी दिएका छन् ।
जग्गा विवादलाई लिएर गत सोमवार बिहान कुटपिट गरी धनुषाधाम नगरपालिका वडा नं २ निवासी ४५ वर्षीय ठाकुरको हत्या भएको थियो । प्रादेशिक अस्पताल जनकपुरले मृतक ठाकुरको शव मङ्गलवार परिवारजनलाई सुम्पिएपछि शव प्रदर्शन गर्दै मिटरब्याज पीडित सङ्घर्ष समितिले आन्दोलन चर्काएको थियो । ठाकुरको हत्या मिटरब्याजसँग सम्बन्धित रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको अनुसन्धानमा संलग्न अधिकारीहरूले जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय, धनुषामा भएको सहमतिमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवान, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रनाउ रञ्जन अवालगायतले हस्ताक्षर गरेका थिए ।