कामाख्या रेल स्टेशन ।
रेलमा उठियो । म जस्तै अरू पनि उठे । कोही ब्याग लिएर एक्लै उठे । कोही केटाकेटी, टोप्लाटोप्ली लिएर, कसैले आफ्नी दुर्बल पत्नीलाई हातमा समाएर उठाए । रेल छुटेको छैन । तथापि बस्नलाई सीट पाइँदैन भनेर दौडादौडी ग¥यौं । सुत्नलाई पनि जग्गा चाहिन्छ । रातिको रेल । रातभरि रेलमा नै जानुपर्छ । बिहान मात्रै पुग्नेछ ।
रेल एक्सप्रेस हो । जुनसुकै स्टेशनमा रोकिंदैन । रातभरि दौडिएर उज्यालो भएपछि मात्रै नाहरलगुन पुग्नेछ । धेरैजसो यात्री बीचका स्टेशनहरूमा उत्रनेछन् । कति चैं राङापाडा, विश्वनाथ चाराली, गहपुर अथवा अरुणाचलमा उत्रनेछन् । अरुणाचलको नाहरलगुनसम्म जानेछ रेल । धेरैको नै रिजर्भेशन छ । नभएकाहरू जनरल डब्बामा उठेका छन् । छेउमैं उत्रनेहरू दर्जाकै छेउमा उभिनेछन् । उठेका छैनन् । रेल चलेपछि उठ्नेछन्, उनीहरू । ठिटा केटाहरू डरभर केही छैन ।
म भने एक्लै भएपनि आफ्नो सीट खोजेर बसिहालें । म बसेको खिडकीको छेउमा एउटी आइमाई पनि बसेकी छ । उसको मुख देखेको छुइनँ । बूढी हो कि केटी हो थाहा पाएको छुइनँ । कहाँ जान्छे जान्दिनँ । सोधेको पनि छैन । खिडकीछेउमा बसेर ऊ बाहिर हेरिरहेकी छ । एक खेप पनि मतिर फर्किएकी छैन । सानो ब्याग एउटा लिएकी छ । गोडामाथि दुईटा हातले समातेकी छ ब्याग । पहिरनमा साडी । हल्का नीलो नाइलनको । रातो पारी भएको । हल्का नीलो साडीलाई पानीमा भिज्न दिने हो भने आइमाईको अङ्ग–प्रत्यङ्गहरू सबै देखिनेछन् ।
आइमाई केही क्षण अघि पसिनाले भिजेकी हुनुपर्छ । तात्तातो पसिना गन्हाइरहेको छ । आफ्नो पसिना नराम्रो गन्हाए पनि त्यो आइमाईको पसिना भने मलाई भित्रैदेखि राम्रो लागेर आइरहेको थियो । मान्छेमान्छेमा ठेलाठेली हुँदा म पनि अलिकति ठेलिएँ । ठेलिंदा ठेलिंदै आइमाईको छेउमैं धस्किन पुगें । आइमाईको कुइनामा ठोक्किए जस्तै लाग्यो । मेरो हत्केलो आइमाईको हत्केलामाथि नराम्रो गरी जोडिन पुग्यो । म पनि लजाएँ । आइमाईले के सोची जान्दिनँ । आइमाईले आफ्नो हत्केलो हटाए पनि मेरो हत्केलो भने त्यस्तै लागिरह्यो ।
राम्रो भएन । उत्रने क्या हो भनेर मलाई सोधी । उत्रन्नँ । कुनै कामले जान्छु, मैले भनें । एक समयमा रेल दौड्न थाल्यो । रेल दौड्न थालेपछि मेरा भावहरू पनि दौडिन थाले । आइमाई कहाँ जाली … एक्लै हो कि … इत्यादि इत्यादि । अरूहरू विभिन्न कुरा गरिरहेछन् । कोही मोबाइलमा गेम खेल्दैछन् । कोही हेड फोनमा गाना सुनिरहेछन् । हामी दुई चुपचाप । आइमाई पनि, म पनि । बात मार्न कुनै बहाना भेटेको छुइनँ । कुनै विषय पनि छैन । चिनेको पनि छैन । मुख नै देखेको छुइनँ, कसरी बात मार्ने । आइमाईले जब बाहिरतिर फर्केर हेर्न लागी एकटक लगाएर हेरि नै रहेकी छ । चुपचाप बाहिरै हेरिरहेकी छ । टाढा देखिएको गुवाहाटी शहरको रमझम, बिजुलीको झिलिकमिलिक हेरिरहेकी होली । हेरेर के सोच्दै होली जान्दिनँ । आइमाईले कपाल सम्हाली । कपाल मिलाउँदा पनि उसको मुख देख्न पाइनँ । हेर्न चाहेको मुखलाई केही बल गरेर अर्कैपट्टि फर्काइ ।
मैले सोचें– आइमाई जस्तीतस्ती हैन । भद्र महिला हो । उच्च वर्गकी । कवि हुन सक्छे । कविताको हरफ, कविताका शब्दहरूमा खेलिरहेकी हुन सक्छे । कविले कविता लेखिरहेको बेला जसरी भाषा र शब्दमा डुबिरहन्छ, आइमाई पनि त्यस्तैमा डुबिरहे जस्तो लाग्यो । बात मा¥यो भने कविताका हरफहरू हराउने डर भए जस्तो । हरायो भने पागल जस्तै घरकै बरन्डामा यताउता गरिरहेको कुनै नामी कविको हालत जस्तै विक्षिप्त भावको स्थिति हुनेछ । आइमाईको चुप रहेको अवस्थालाई मैले त्यस्तै होला भन्ने सोचें ।
शराईघाटको पुल आयो । भावुक भएर म पनि चुप भएँ । पुलको शब्द हाम्रो डब्बामा पनि आयो । सबैले भाषा बुज्नुपर्छ । सबै चुप हुनुपर्छ । आइमाईले त्यही समयमा आफ्नो ब्यागलाई दुवै हातले खोली । केही बोलिन । मैले पनि लाज मानेर केही भनिनँ । चुप लागेर बसें । भद्र महिलासँग जस्तोतस्तो कुरा गर्नुहुँदैन । भन्नु उचित पनि होइन । बाटाघाटामा चप्पल खोलेर पिटेका उदाहरणहरू छन् । कहिलेकाहीं अरूले भनेको सुनेको छु र आफ्नै नजरले पनि देखेको छु । जस्तोतस्तो कुराहरू हेर्नुभन्दा आफैं संयम रहेको राम्रो । लाजले मुख लुकाएँ ।
दुवै गोडामाथि राखेर चेन खोलेर ब्यागबाट केही चीज निकालेर मुखमा हाली । सादा हो कि के हो केही भन्न सकिनँ । पान पनि हुन सक्छ । त्यसै समयमा भद्र महिला भन्ने सोचिराखेको मेरो मनमा केही खलबली मच्चियो । भद्र महिलाहरूलाई तामुल–साधाको टोप्ला बोकेको देखेको छुइनँ । किनेर लगेको पनि देखेको छुइनँ । कस्ती आइमाई हो यो । धत् म पनि के के सोचिराखेको छु । कोही बेला त के हुन्छ । दबाई पनि त हुन सक्छ । दबाई थियो भने पानी चाहिने थियो । दबाई हैन त्यो । दबाई थियो भने त्यसको खोल देखिने थियो । खोल बाहिर फ्याँक्नुपर्ने थियो । अहँ … होमियोको दबाई पनि हुन सक्छ । होमियोको दबाई पानीसँग खानुपर्दैन । पानी नखाँदा पनि हुन्छ ।
दबाई खाएकी हो भने आइमाईलाई केही बिमार छ कि क्या हो … सोच्न नसक्ने बिमार लागेको छ कि कसो । आल्ट्रासाउन्ड गर्दा पनि फेला नपर्ने कुनै नराम्रो बिमारले भेटेछ कि क्या हो । न केटाकेटी नहुने दबाई खाएकी हो । केटाकेटी नहुने के के दबाई हाम्री नानीकी आमाले पनि खाएकी थिई । ढिलो गरेर बच्चा जन्माउनलाई नानीकी आमाले पाँच वर्षसम्म त्यो दबाई खाएकी थिई । छिट्टै बच्चा जन्मायो भने आमाहरूको देह बिग्रन्छ । कुरा सबैले बुजेका छन् । त्यसैले हिजोआज सबै आमा दबाई खान्छन् । बिहे नभएका केटीहरू पनि दबाई खान्छन् । दबाई खाँदाखाँदा पछि बच्चा नजन्मने हुन्छ । बच्चा जन्मने सम्भावना पनि कमाउँछन् । नत्र एबर्सन गराएर यन्त्रणामा एक्लै जिउँछन् । त्यसो भएन भने बाउविनाको बच्चा जन्माइदिन्छन् । त्यसो गर्नुभन्दा आँखा खुला राख्नु राम्रो हुन्छ ।
शहरहरूमा अक्सर त्यसरी जन्मिएका बच्चाहरूलाई कहिल्यै बाटाछेउमा, कहिल्यै डास्टबिनछेउमा फ्याँक्ने गर्छन् । यस्तै यस्तै सोच्दै हत्केलालाई तानेर ल्याएँ आइमाईको हत्केलाको छेउबाट । आइमाईको हत्केलोलाई पर सारिदिएँ । आइमाई अलिक पर सरी । अर्कैपट्टि फर्किए जस्तै गरी मबाट टाढा गए जस्तै गरी । म पनि अलि पर सरेर बसें । मलाई नहेर्ने जस्तै गरी । मैले सोचें– कहिल्यै यस्तो कुरा सोचेकी थिई होला । मलाई पर राख्ने । राख्न सकिरहेकी थिइन । मेरो हत्केलाले लागेको उसलाई थाहा हुनुपर्ने, उसको उष्णता मलाई महसूस भइरहेको थियो । मदेखि रिसाइ कि क्या हो । मलाई असभ्य, नराम्रो मान्छे भनेर सोचिहोली । मलाई लाज लागेर आयो । मेरो भूल भयो । त्यसै उसै सोचें । आइमाई धेरै लेखेपढेकी हुन सक्छे । कुनै कलेजकी छात्रा पनि हुन सक्छे । छात्रा नभएर अध्यापक पनि हुन सक्छे । नत्र अफसर पनि हुन सक्छे । आफ्नो कार्यालयमा कस्तो काम चल्दैछ, स्टाफले राम्रो गर्दैछन् कि छैनन् त्यस्तै सोचेर बसेकी हुन सक्छे । नभए दुर्नीतिको बाटो लिएर धन कमाउने हुन सक्छे । दिनदिनै राम्रो बाटो खोज्दै हिंडेकी पनि हुन सक्छे । सिंचाइ अभियन्ता हो भने कुनै अञ्चलको, कुनै जिल्लाको कृषकहरूलाई ठगाएर रुपैयाँ ऐंठने बाटो खोज्ने पनि हुन सक्छे । खनिराखेको नालालाई देखाएर प्रतिशत भाग गर्ने पनि त हुन सक्छे । मैले पनि आइमाईको जीउको छेउबाट आफैंलाई पर सारें । पर सरेर बसें । आइमाई पनि कोल्टे फेर्दै अर्कैपट्टि फर्किएर बसी । उता फर्केर के कुरा सोच्न थाली । भित्रभित्रै के के सोच्न लागी । तँइले बुजिस्, तँ केही चिन्ता गर । आइमाईको कुरा छाडी दे । मेरो अन्तर्मनले भन्यो ।
तर भएन । फेरि त्यही आइमाईको कुरा सोच्दै हिंडें । आइमाई बिहे नभएकी हो कि बिहे भएकी आमा हो फेरि सोच्न थालें । बिहे न भएकी भए किन एक्लै हिंड्थी र । पघा नभएका भेंडाबाख्रा जस्तै । चर्न छोडिदिएका गाईबाख्रा टाउनका बाटाघाटामा हिंडे जस्तै । सबैले खेद्छन् । कसैकोमा पसेर पानी खान्छन् । चर्न छोडिदिएका गाईगोरुहरू जताततै दोकानहरूमा दाल, आलु फ्याँकेको खोज्दै हिंड्छन् । त्यो आइमाई पनि त्यस्तै घरवारी नभएकी, आमाबुबा नभएकी, पति नभएकी घुमीफिरी हिंड्ने देह व्यापारमा लागेकी कुनै वेश्या त हैन । न आइमाईको कुनै मायालु छ कि क्या हो । जेहोस्, त्यो आइमाई राम्री आइमाई हैन । आइमाईको तातो पसिना मलाई अब नराम्रो लाग्न थालो । त्यो आइमाईको देहबाट अब गोमूत्र जस्तो गन्ध आउन थाले जस्तो लाग्न थालो । त्यस्तो भएपनि चुप लागेर बसें ।
आइमाईबाट पर गएर बस्न मन लाग्यो । खिडकीको छेउमा गएर हेर्न मन लाग्यो । हेर्न सकिएन । पर सर्ने जग्गा पनि छैन । खिडकीमैं चेपिएर बसेकी छ बिचारी । कतै पनि नहल्लीकन गाछको मुढा जस्तै स्थिर भइरहेकी छ । श्वास फेरेको आभास भइरहेछ । मुटु ढुकढुक गरिरहेछ । उसले श्वास फेरेको मेरो जीउमा पनि अलिअलि अनुभूत भइरहेछ । नयाँ मारुतीलाई स्टार्ट गरेर स्लो रेसमा चलाएर साइलेन्सर पाइपबाट थर्थर् गरे जस्तो । त्यो आइमाई तर मारुती पनि हैन, ट्याक्टर पनि होइन । हावालाई भेटेर आफ्नो बनाए पनि पाउन नसक्ने चीज हो, त्यो आईमाई । एमआरआई गरे पनि त्यो आइमाईको कुरोलाई जान्न सकिन्न ।
भूतलाई मैले देखेको छुइाँ । भूतको कामलाई कसैकसैको मुखबाट सुनेको छु । भूतका हात–हत्केलाहरू अति चीसो हुन्छ अरे । तर त्यो आइमाई त भूत पनि हैन । त्यसको हत्केलो तातो छ । खुन पसिनाले बनिएकी मान्छे हो ऊ । उसको जीवन छ । सोचविचार छ । पृथ्वीको सौन्दर्य हेर्ने दुईवटा आँखा छन् । मुटुमा के छ जान्दिनँ । माया–रुनु–हाँस्नु उसको मुटुमा छ कि छैन, त्यो खोजेर पनि केही पाउने छुइनँ । खोज्ने सुयोग पनि छैन । कुनै सूत्र भेटिएन । केवल सोचें अनि सोचें । समय पनि अलिअलि गर्दै गइरहेछ । अहिलेको समय कस्तो हो केही थाहा छैन ।
रेलबाट को उत्रियो, को उठो केही देखेको छुइनँ । आइमाईले हेरिरहेकी खिडकीबाट बाहिर उज्यालो भएको भर्खरै थाहा पाउँदैछु । उज्यालो भएको हुनुपर्छ । उज्यालो भयो । रेल पनि रोकियो । नाहरलगुन स्टेशन आइपुगेको हुनुपर्छ । सबै उत्रन ठीक परे । म पनि आस्तेले आइमाईको रातो पारी भएको साडी थिचिएबाट उठ्दै आइमाईलाई त्यसै बोलाएँ–
आऊ । केही नभनीकन आइमाई उत्रिएर मेरो पछिपछि आई । हामी दुवै पतिपत्नी जस्तै रेलबाट उत्रियौं । प्लेटफार्म छाड्यौं । बोतलको पानीले मुख धुन खोज्दै आइमाई अलि परतिर गई ।
चिया पिउने ?
पिउँदिनँ ।
पिउँदिनँ भने पनि रातभरि सँगै बसेकी आइमाईको मुखबाट पहिलोपल्ट भएपनि कुरा सुन्न पाएर राम्रो लाग्यो । उसको अनुहारलाई धेरै राम्रोसँग हेरें । आइमाई देख्नमा राम्री छ । गोरी, ठूलो अनुहार भएकी सुन्दरी । नाक मेरोभन्दा अलिक ठूलो अनि थेप्चो थियो । राम्री भएपनि उमेर सोध्न ठीक लागेन ।
केटी त हैन । बिहे भएकी आइमाई । ३० वर्षकी जस्ती देखिए पनि असल उमेर भने त्योभन्दा बढी नै हुनुपर्छ । तपाईं पिउनुहोस् है दाजु, म पान खान्छु । यो पनि राम्रो हैन । पान खाने मेरो निशा नै भयो । यसरी ब्यागभित्र राखेको तामुलको थैलो निकाली र थैलीबाट पान निकालेर मुखमा हाली । बिडी, सिगरेट केही पनि म खान्नँ । अरूले खाए पनि म नराम्रो मान्दिनँ । मास्टर थिएँ । अहिले रिटायर्ड भएँ।
पर्दैन दाजु । सँगै बसेर मेरो अभिभावक जस्तो भएर आयौं, त्यसको लागि दाजुलाई धन्यवाद है । मेरो त जीवन नै एक्लै । बिहे भएपछि पनि मेरो पतिले मलाई छाडेर हिंड्यो । कहीं गयो । त्यहीं हराएको पतिलाई खोज्दै आजसम्म २० वर्ष घुमें । तर पनि उसलाई भेट्न सकिनँ । कहाँ गयो के गर्छ जान्दिनँ । मलाई विश्वास छ, ऊ मरेको छैन । छिटै उसलाई भेट्नेछु । गुवाहाटीको कुनै पहाडमा गाई पाल्छ अरे भन्ने सुनेर गएकी थिएँ । छैन, भेटिएन । फेरि सुनें, अरुणाचलको कुनै ठाउँमा काठको काम गर्दैछ । तर कुन जिल्लामा, कुन जङ्गलमा त्यो पनि जान्दिनँ ।
नाम के हो अचानक सोधिहालें । दिल बहादुर । त्यही दिललाई खोज्न म अरुणाचल आएकी । तपाईं जानुहोस् दाजु । म जान्छु । यति भनेर ऊ हतारमा गई । फोन नम्बर पनि लिइनँ ।
दिल बहादुर … । म चिन्दिनँ । चिन्नुपर्ने कुनै कारण पनि छैन । ऊ भयो अर्कै जातिको । अर्कै संस्कृति मान्ने । म एकजना मास्टर । अब रिटायर्ड ।
आइमाई जाँदै गरेको दृश्य टाढासम्म हेरिरहें । रातो पारी भएको नीलो साडी उच्च पावरको चश्मा लगाएर हेरिरहेको छु । सोचें– त्यो आइमाईले आफ्नो पति दिल बहादुरलाई भेट्ली त …
(मूल लेखक– नन्देश्वर दैमारी, जन्म २५ मे १९५५ । बडो भाषाका प्रसिद्ध लेखक । असमियाँ र बडोमा किताबहरू प्रकाशित ।
नेपाली भाषान्तर– बैधनाथ उपाध्याय, जन्म २८ सेप्टेम्बर १९६७ । कवि, पत्रकार एवं समालोचक । हिन्दी, असमियाँ र नेपालीमा पुस्तकहरू प्रकाशित । केन्द्रीय हिन्दी निर्देशालयबाट हिन्दीभाषी हिन्दी लेखक पुरस्कारले सम्मानित ।) साभारः समकालीन साहित्य