विद्युत् अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । पटकपटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ताको दैनिकी असहज भएको छ । नेपाल लोडसेडिङमुक्त भनिए पनि नागरिकले त्यसको अनुभूति गर्न पाएका छैनन् । मुलुकको प्रायः अवस्था उस्तै छ । यसमा पनि वीरगंज वितरण केन्द्र मातहतका उपभोक्ता बढी पीडित छन् । पहिलो कारण हो, यहाँका उपभोक्ता सङ्गठित नहुनु । उपभोक्ता सङ्गठित नभएकाले यहाँ प्राधिकरणको जिम्मेवार पक्ष नियमित सेवा प्रवाहमा उदासीन बनेको छ । दोस्रो कुरा विद्युत् सेवा अनुगमनकारी निकाय एवं उपभोक्ता हित संरक्षण पक्षधरको यहाँ आँखा पर्दैन । वीरगंज महानगरपालिका भए पनि राज्यको अनुगमनकारी निकायहरूबाट उपेक्षित छ । सेवा प्रदायकमा जिम्मेवारी, जवाफदेहिता एवं कर्तव्यबोधको भाव रहेन भने उपभोक्तामैत्री सेवा प्रवाह हुन सक्दैन ।
वीरगंज महानगरगायतका वीरगंज वितरण केन्द्रको क्षेत्रमा विनाकारण विद्युत् अनियमित हुँदा उपभोक्ताले हैरानी खेपिरहेका छन् । बत्ती कतिखेर आउँछ कतिखेर जान्छ, थाहा हुँदैन । पटक–पटक विद्युत् अवरुद्ध हुँदा उद्योग, कल कारखाना, सार्वजनिक सेवाप्रदायक कार्यालयहरूको सेवा प्रवाह, अध्यायन–अध्यापन साथै दैनिक काम प्रभावित छ । तालिकाविना अनियमित विद्युत् कटौतीले काम अवरुद्ध मात्र हैन, निजी एवं सार्वजनिक सम्पत्तिमा क्षतिसमेत पुगिरहेको छ । पटकपटक विद्युत् आउनेजाने हुँदा विद्युतीय सामग्रीहरू खराब भएका छन्, जलेर नष्ट भएका छन् । आकाशमा बादल लाग्नु हुन्न विद्युत् कटौती हुन्छ, गर्मीको बेला छ, अलिकति हावा चल्न थाल्यो, विद्युत् कटौती हुन्छ । जिल्लाको कुनै एक कुनामा पानी प¥यो, विद्युत् कटौती हुन्छ । प्रसारण लाइनमा एउटा प्mयुज गयो भने मरम्मत गर्न घण्टौं लाग्छ । जीर्ण भइसकेको पोल, तार र उपकरणबारे प्राधिकरण बेखबर छ भन्ने पनि होइन । सोही कारण विद्युत् सट भएर जब आगो लाग्छ, मरम्मत गर्न घण्टौं लाग्छ ।
प्राधिकरणले प्राविधिक कारणले विद्युत् आउनेजाने भएको बताउँछ, तर त्यसको समाधान कसले गर्ने थाहा छैन । उपभोक्ताले महसूल तिरेको छ भने उसले गुणस्तरीय सेवा पाउनुपर्छ । सेवा अवरुद्ध हुँदा चित्तबुझ्दो कारणसहित अग्रिम जानकारी पाउनुपर्छ । तर आजभन्दा दशकौं पहिले जडान भएका विद्युतीय उपकरणले आप्mनो क्ष्Fमताभन्दा बढी भार वहन गरिरहेका छन् । जसले गर्दा घरीघरी लाइन जान्छ । ट्रान्सफर्मरको क्षमताले नभ्याउने भार दिएपछि पड्कन्छ नै । दशकौं पुराना तारहरू चुँडिन्छन्, नयाँ तार जडान गर्ने जोहो गरिंदैन । पोलहरू जीर्ण भइसकेका छन्, कहीं बाङ्गिएका छन्, कहीं भाँचिएका छन्, कतिमा खिया लागिसकेको छ । यस्तो समस्या समाधान गर्ने जिम्मा केन्द्रको हो । तर अपजसको भागी खासखास वितरण केन्द्र भइरहेका छन् । थाहा हुनेले बोल्न नसक्ने र थाहा नहुनेले जथाभावी गाली गर्ने खेल मात्र भइरहेको छ । त्यसमाथि प्राधिकरणका कर्मचारीहरू पनि तदारुकताका साथ सक्नेजति काम गरिदिंदैनन् । आजको काम भोलिका लागि थाति राख्नु कर्मचारीको बानी नै परिसकेको छ । यसले गर्दा उपभोक्तामा कर्मचारीप्रति विश्वास मासिंदो छ । नतीजा आरोपप्रत्यारोपबाहेक के हुन सक्छ ? यस्तोमा प्राधिकरण पनि समस्या बताएर उपभोक्ताको चित्त बुझाउन असमर्थ हुन्छ । यसमा सबैको साथ र सहयोग भएन भने कसैले गरेर केही हुने देखिएको छैन ।