धानमा फेद कुहिने रोग

ढोरपाटन (बागलुङ), १७ साउन/रासस
बागलुङमा धानमा फेद कुहिने रोग देखिएको छ । सो रोगले धानको बोट मर्न थालेपछि किसान निराश बनेका छन् । धान रापेको एक महीनामैं फेद कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका छन् । धानको फेद कुहिने, डाँठ पहेंलो भएर सुक्ने गरेको छ । धान गोड्ने बेलामा फेद कुहिन थालेपछि कृषि ज्ञान केन्द्रबाट प्राविधिकको टोली नै खटिएको छ ।

जिल्लाको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको ठूलो क्षेत्रमा लगाइएको धानबाली कुहिएर नष्ट हुन थालेको हो । किसानले धान कुहिएर नष्ट हुन थालेपछि कृषि ज्ञान केन्द्रलाई गुहारेका छन् । प्राविधिकको टोली खेतमैं पुगेर रोग पत्ता लगाइ नियन्त्रण गर्न थालिएको कृषि ज्ञान केन्द्र, बागलुड्ढा बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले जानकारी दिए । धान मर्न थालेको किसानको गुनासो आएपछि नियन्त्रणमा लागेको उनले बताए । बागलुङ नगरपालिका–१२, १३ र १४ र जैमिनी नगरपालिकाका अधिकांश क्षेत्रमा फेद कुहिने रोग लागेको छ ।

रोगको पहिचान भएपछि किसानलाई ढुसीनाशक विषादी ‘कार्वन्डा’ प्रयोगका लागि सुझाएको भन्दै यो रोग नियन्त्रणका लागि पालिकासँग समन्वय गरेर लागेको उनी बताउँछन् । रोग नियन्त्रणका लागि एक रोपनी जग्गामा २५ देखि ३० लिटर कार्वन्डा हाल्नुपर्ने अधिकारीले जानकारी दिए । यस रोगको समाधान नभए उत्पादनमा ५० प्रतिशत ह्रास आउने उनी बताउँछन् ।

उनले भने, “किसानको गुनासो आएपछि हामी सम्बन्धित ठाउँमा पुगेर अध्ययन गरिरहेका छौं, जहाँ पुगेका छौं, त्यो ठाउँमा एकैनासको लक्षण देखिएका छन्, यो फेद कुहिने रोग हो, बलेवा, पैयूँपाटा, सिगाना क्षेत्रमा बढी देखिएको छ, जैमिनीको ५० प्रतिशत क्षेत्रमा लगाएको धानमा यो समस्या छ, रोग समयमैं नियन्त्रण भएन भने उत्पादनमा धेरै गिरावट आउने देखिन्छ ।”

गत असार दोस्रो साता लगाएको धान अहिले पूरै मर्न थालेको बागलुङ नगरपालिका–१२ का प्रेमप्रसाद शर्मा पौडेलले बताए । फेद कुहिने रोगले धान सखाप भएको र यसको समाधान नभए बीउसमेत जोगाउन मुश्किल पर्ने उनको भनाइ छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्