जनताले अनुभूति हुनेगरी विकास निर्माणको काम गर्छौं –मन्त्री राय

प्रस, वीरगंज, १७ साउन/
मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायले प्रदेशका जनताले अनुभूति हुनेगरी विकास कार्यहरू अगाडि बढाएको बताएकाछन् ।

नेपाली काङ्ग्रेस, पर्साले बिहीवार आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा उनले मधेस प्रदेशमा नेपाली काङ्ग्रेसले पाएको चार मन्त्रालयले अरूभन्दा फरक हिसाबले काम गरिरहेको बताए ।

उनले विगतका दिनमा अरू पार्टीले सरकार बनाएर धेरै भ्रष्टाचार गरेको बताउँदै अबका दिनमा यस्ता विकृति हटाएर एउटा सिस्टममा आफूहरू काम गरिरहेको बताए ।

भूमि तथा कृषि सहकारी मन्त्री जनार्दनसिंह क्षत्रीले आव २०८१/८२ को बजेट पास भएपछि आपूmहरू मन्त्रीमा नियुक्त भएकाले विकासका योजनाहरू बजेटमा समावेश गराउन नपाएको बताए । उनले बजेटमा सन्तुलन कायम गर्नुपर्ने बताए ।

उनले कृषि पेशामा दलालहरूको बढी चलखेल हुने भएकाले सम्पूर्ण किसान मिलेर दलाली गर्नेलाई लखेट्नुपर्ने बताए । मन्त्री क्षत्रीले जनताको पक्षमा सधैं रहेर काम गर्ने बताए ।

नेका, पर्साका उपसभापति रामनारायण कुर्मीले जनताको सेवा गर्ने अवसर नेकाले पाएकोले यसलाई सदुपयोग गर्न आग्रह गरे । उनले मजदूरहरूको समस्यालाई सम्बोधन गर्न श्रम कार्यालयलाई कडा निर्देशन दिनुपर्ने बताए ।

मन्त्री क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशसभा सदस्य श्याम पटेल, सहसचिव मदन यादव, नवीन सिंह, कोषाअध्यक्ष प्रेम थापा, प्रवक्ता रमेश पाण्डे, सदस्य जगन राउत कुर्मी, लोकनारायण यादव, शान्ति कार्कीलगायतको सहभागिता थियो ।

कार्यक्रमको सहजीकरण नेका, पर्साका उपसभापति अशोककुमार गुप्ताले गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्