प्रस, परवानीपुर, १७ साउन/
नेपाल विद्युत् प्राधिकरण मातहतको वीरगंज वितरण केन्द्रको सेवा निस्प्रभावी हुँदै गएको उपभोक्ताहरूले गुनासो गरेका छन् ।

वर्षात् र गर्मीको मौसम भए तापनि विद्युत् सेवा चुस्तदुरुस्त हुने ठाउँमा निकै कमजोर र निस्प्रभावी भएको वीरगंजवासीको गुनासो छ । विद्युत् महसूल तिर्ने बेलामा एक दिन पार गरेपछि जरिवाना तिराउने सो कार्यालय अघोषितरूपमा लोडसेडिङ गरिरहेको समस्याबाट वीरगंज महानगरपालिका र बाराका उपभोक्ता मारमा परेको गुनासो छ । हलुका पानी पर्दैमा लाइन कट्ने, पटकपटक ट्रिपिङ हुने, बिहान–बेलुका अघोषितरूपमा तीन/चार घण्टासम्म लोडसेडिङ भइरहेको समस्याले यस क्षेत्रका उपभोक्ताहरू आजित बनेका छन् । साथै उपभोक्ताहरूको समस्या सम्बोधन गर्न कार्यालयले उचित व्यवस्थापन नमिलाएको समेत आरोप लगाएका छन् ।

कार्यालयले ल्यान्डलाइन नम्बर जनसरोकारले सूचना दिन वा समस्या टिपाउनको लागि ०५१–५२२०५० र कार्यालय प्रमुखको सम्पर्क नं ०५१–५२१०५० राखे तापनि सो ल्यान्डलाइनबाट चाहेको बेलामा उपभोक्ताले सम्पर्क गर्न पाउँदैनन् । कहिले उठ्दैन, कहिले व्यस्त भन्छ, कहिले उठे पनि कति बेला मरम्मत सम्भारको टोली जाने हो, यसबारेमा यकीन जानकारी पाइँदैन ।

त्यसैगरी, कार्यालय प्रमुखको सरकारी नम्बर ९८५५०२६०३४ पनि साँझ ५ बजेपछि स्वीचअप गरेर राख्ने गरिएको छ । मरम्मत सम्भार फाँटका मुख्य इन्जिनीयर निर्मल फौज्दार र सहायक इन्जिनीयर वीरेन्द्र चौधरीको समेत सम्पर्क नम्बर रातिको समयमा स्वीचअफ हुने गरेको छ । साँझ ५ बजेपछि वितरण केन्द्र वीरगंज आफैं रोगीजस्तै सम्पर्कविहीन भएर बस्दा हजारौं उपभोक्ता सास्ती खेपिरहेका हुन्छन् ।

उनीहरूले गर्मीको बेला बिजुली नहुँदा लामखुट्टेको टोकाइ, इमेल, इन्टरनेट, खानेपानी, कपडा धुन, नुहाउनलगायत सेवाबाट वञ्चित हुने गरेको बताएका छन् । यस विषयमा कार्यालयका अधिकारीहरूसँग बुझ्दा वीरगंजमा बिजुलीको माग अत्यधिक हुने र आपूर्ति कम हुँदा समस्या भइरहेको बताइएको छ । कार्यालय प्रमुख अवधेश दुबे वीरगंज वितरण केन्द्रको प्रमुखको रूपमा आएपछि विद्युत् सेवा झन् निस्प्रभावी र लथालिङ्ग भएको कार्यालयका कर्मचारीले बताएका छन् ।

त्यसैगरी, केही दिन अघि बिजुली मरम्मतको क्रममा वीरगंज–१२ ब्रह्मचोकस्थित वीरगंज–२५ श्रीसिया घर भई हाल वितरण केन्द्रमा हेल्पर पदमा कार्यरत रामप्रसाद चौधरीको मृत्यु भएको थियो । उनको मृत्युमा पनि कर्मचारीहरूबीच समन्वय नभएकोले उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो । चौधरी पोलमा चढेर मरम्मत गरिरहेको बेला लाइन चालू गरेपछि उनलाई करेन्ट लागेर सडकमा लडेर टाउकोमा गम्भीर चोट लागी वयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । सो घटनालाई पनि ढाकछोप गर्न कार्यालयले भरमग्दुर प्रयास ग¥यो ।

बिजुली मरम्मत गर्न बाँसको भ¥याङबाट लडेको र दुर्घटनामा परी उनको मृत्यु भएको देखाउन खोजियो । यस विषयमा नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरले छानबीन समिति गठन गरेर अनुसन्धान गरिरहेको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रबन्धक मुनिन्द्र ठाकुरले जानकारी गराए । उनले घटनाको सत्यतथ्य छानबीन गरेर दोषी भेट्ने कर्मचारीलाई विभागीय कारबाई गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here