नेपाली सीमावर्ती क्षेत्रहरूमा भारतीय सवारीसाधनहरूको निर्बाध सञ्चालन भएको पाइन्छ । नेपालमा भारतीय सवारीसाधन सञ्चालन कार्यविधि छ र सोअनुरूप भारतीय सवारीसाधनहरू सञ्चालन हुनुपर्ने हो । कार्यविधि अनुसार मालवाहक सवारीसाधनहरूको हकमा मालवस्तु आयात भएर आउँदा भाडाका भारतीय सवारीसाधनहरू अनलोड गरेर फर्कनेसम्मको अवधिसम्म नेपालमा बस्न सक्छन् । त्यसको लागि भन्सार बिन्दुमा उनीहरूको प्रवेश दर्ता र फिर्ता भएको दिन गणना गरिन्छ र तोकिए अनुसारको राजस्व तिर्नुपर्ने हुन्छ । निजी सवारीसाधनहरूको हकमा भने चार चक्के जीप, कार, भ्यान र दुई चक्के मोटरसाइकलहरू भन्सार बिन्दुमा तोकिए अनुसारको राजस्व तिरेर वार्षिक ३० दिनभन्दा बढी समयावधिसम्म बस्न पाउने व्यवस्था छैन । यसमा चार र दुई चक्के सवारीसाधनहरू भने सीमावर्ती बजार क्षेत्रसम्म दैनिक दर्ता गरेर प्रवेश पाउने व्यवस्था गरिएको छ । यसरी प्रवेश हुने सवारीसाधनहरू भने दैनिक रातिको १० बजेसम्म भारत फिर्ता भइसक्नुपर्छ । नेपाली सवारीसाधनहरू भने भारतीय सीमा क्षेत्रको रेलवे र हवाई अड्डासम्म जान सक्ने तथा त्यसभन्दा टाढा जानुपर्ने भए भाडा अथवा निजी सवारीसाधनहरूले भारतीय राजदूतावास र महावाणिज्य दूतावासबाट आवश्यक कागजात पेश गरेर इजाजत लिएर मात्र जान पाउँछन् ।
वीरगंज–रक्सौल क्षेत्रमा यस अघि रक्सौलस्थित रेलवे ढालासम्म नेपाली तीन पाङ्ग्रे सवारीसाधनहरू जाने गरेका थिए । अहिले पुलवारि नै रोकिन्छ । भारतीय तीन पाङ्ग्रे सवारीसाधनहरू ईरिक्शा, टेम्पो वीरगंज प्रवेश गर्न पाउँदैनन् । तर पनि चार चक्के र दुई चक्के सवारीसाधनहरू भने पर्सा जिल्लाभरि भन्सारमा दर्ता नगरीकनै निर्बाध सञ्चालन छन् । पर्सा र बाराभन्दा भारतीय सवारीसाधनहरू रौतहट जिल्लामा निर्बाध सञ्चालनमा छन् । रौतहटमा अहिले ९० प्रतिशतभन्दा बढी भारतीय सवारीसाधनहरू सञ्चालनमा छन् । सरकारी कार्यालयबाहेक निजी तथा भाडाका सवारीसाधनमा भारतीय नम्बर प्लेटका गाडीहरूको बिगबिगी छ । रौतहटको तुलनामा पर्सा र बाराका सीमा क्षेत्रदेखि विभिन्न पालिकाहरूमा भारतीय सवारीसाधनहरूको निर्बाध आवागमन कमै छ । कतिपय भारतीय सवारीसाधनहरू नेपाली नागरिकले पनि प्रयोग गर्दै आएका छन् । भन्सार दस्तुर तेब्बरी भएको कारण नेपालको तुलनामा निकै सस्तोमा भारतीय सवारीसाधनहरू उपलब्ध हुने भएकाले धेरैजसोले भारतीय सवारीसाधनहरूको प्रयोग बढाएका हुन् ।
भन्सार, सशस्त्र तथा जनपद प्रहरीले भारतीय सवारीसाधनहरूको अनधिकृत प्रयोगमा अङ्कुश लगाउन सकेका छैनन् । यसैको परिणाम पर्सा, बारा र रौतहटमा नेपाली सवारीसाधनभन्दा बढी भारतीय सवारीसाधनहरू प्रयोगमा आएका हुन् । अहिले वीरगंज भन्सारदेखि शङ्कराचार्यद्वारसम्म भारतीय सवारीसाधनहरूको अघोषित पार्किङ बढ्दो छ । दुई तहका सुरक्षाकर्मीहरू तैनाथ रहेको सो स्थानमा उनीहरूको स्वीकृतिबेगर भारतीय सवारीसाधनहरू पार्किङ गरिएको कुरा पत्यार पनि गर्न सकिन्न । सानातिना सामानहरू लुकाएर लैजानेहरूलाई खोजतलाश गर्न सक्ने सुरक्षाकर्मीहरूको आँखाअगाडि गरिएको यो अवैध पार्किङविरुद्ध दुवै तहका सुरक्षाकर्मीहरू गैरजिम्मेवार देखिनु आफैंमा उदेकलाग्दो विषय भएको छ ।