देशभर दुर्ई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

काठमाडौं, १६ साउन/रासस
देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए ।

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जनाइएको छ । सबैभन्दा बढी काठमाडौंमा २४९ जनामा डेङ्गु देखिएको छ । यस्तै, झापामा १३० र चितवनमा १०५ जनामा सङ्क्रमण देखिएको छ । उपत्यकामा ३१६ जनामा सङ्क्रमण डेङ्गुको सङ्क्रमण देखिएको छ । काठमाडौंमा २४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा सङ्क्रमण देखिएको हो।
रोग शाखा प्रमुख डा दाहालले डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । “डेङ्गु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो ।

यसका लागि आफ्नो घरवरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरका झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्छ,” उनले भने ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्