त्रिशूलीमा बेपत्ता भएका परिवारसँग नगरप्रमुख सिंहद्वारा भेटघाट

प्रस, वीरगंज, २ साउन/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले त्रिशूली नदीमा बेपत्ता भएका तीनजना व्यक्तिको परिवारसँग भेटघाट गरेका छन्।

बुधवार बिहान नगरप्रमुख सिंहले वीरगंज महानगरपालिका–१६ नगवाका जवाहिर महतोका परिवार, बारा घर भई नगवामा बसोबास गर्दै आएका अरविन्द पडितका परिवार र नगवाकै नयाँबस्तीका हरेन्द्र पडितका परिवारसँग भेटघाट गरेका हुन्।

जवाहिरका बुबा भगवान महतोसँग भेटघाट गर्दै नगरप्रमुख सिंहले जवाहिरका छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने बताएका छन्। उनले पीडित परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको बताए।
यस्तै, अरविन्द पडितका परिवारसँग भेट गर्दै नगरप्रमुख सिंहले सहयोगको आश्वासन दिएका छन्। अरविन्द शिक्षण अस्पताल काठमाडौंबाट बिएससी नर्सिङ पूरा गरी सेवा अवधिका लागि पत्र बुझ्न जाँदा दुर्घटनामा परेका थिए।

त्यसैगरी, नगवा नयाँबस्तीका हरेन्द्र पडितको परिवारसँग नगरप्रमुख सिंहले भेटघाट गरेका छन्। काठमाडौंको फर्निचर उद्योगमा काम गर्दै आएका हरेन्द्र एन्जल बसबाट काठमाडौं जाने क्रममा दुर्घटनामा परेका थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्