देउवा रोहबरमा ओलीको आगमन, प्रचण्डको बर्हिगमन

– सन्तोष श्रेष्ठ
नेपालको राजनीतिमा स्वर्ग वा नर्क सँगै जाने खाएको कसमको पनि केही अर्थ रहेन। संसदीय अङ्कगणितको चमत्कारी झोला बोकेर हिंड्नेहरूको पनि केही सीप नलागेर नाटकीयरूपमा सत्तामा विराजमान हुन पुगे नेपाली राजनीतिका चतुर खेलाडी केपी शर्मा ओली। आफूलाई नेपालको राजनीतिमा ‘किङमेकर’ ठान्ने प्रचण्डलाई एक झट्कामा बालुटारबाट खुमलटार पु–याइदिए ओलीले। सधैं काङ्ग्रेस र एमाले भिडाउँदै सत्ता लम्ब्याउने प्रचण्डको रणनीति नराम्ररी पछारियो।

काङ्ग्रेसले प्रचण्डलाई सत्ताको सरदार बनाएर स्वतन्त्ररूपमा एकछत्र राज गर्न छोडेको थियो। काङ्ग्रेसको समर्थन छँदाछँदै प्रचण्ड सरकारले के के नै पाउँलाजस्तो गरी हौंसिएर ओलीको काखमा सुत्ने हतारोले आज ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ जस्तो भएको छ। आफैंले प्रतिगमनकारीको बिल्ला झुन्ड्याउने अनि काङ्ग्रेसलाई थाङ्नामा सुताएर खुसुक्क आधा रातमा ओलीसँग घाँटी जोड्न पुग्ने प्रचण्डको उथलपुथल पार्ने रणनीति आज आफ्नैलागि ठूलो अभिशाप भएको छ। ‘किन च्याउरिइस् मरीच आफ्नै रागले’ भनेजस्तो भएको छ, आज प्रचण्डलाई।

तत्कालीन समयमा ओलीलाई संसद् विघटनकारी, संविधान मिचुवा तथा प्रतिगमनकारी देखेर प्रचण्डले बूढानीलकण्ठमा सत्ताको तालाचाबी मात्र बुझाएनन्, काङ्ग्रेससँग चुनावी गठबन्धन गरेर प्रतिगमनकारी ओलीलाई सदाको लागि अन्त नगरेसम्म ‘सँगै बाँच्ने सँगै मर्ने’ कसम खाएर गरेको गठबन्धन, किन प्रचण्डले छिनभरमा भताभुङ्ग पारे ? त्यो भनिरहनु नपर्ला, जगजाहेर छ।

धोखाधडी/छलछामको राजनीति कति पीडादायक हुन्छ भन्ने सम्भवतः प्रचण्डले अहिले महसूस गरेरै होलान्। संसद्को रोस्टमबाट बडो भावुकताका साथ ‘नयाँ समीकरणमा मलाईजस्तो अरूसँग व्यवहार नगर्नू’ भनेर ओलीलाई कटाक्ष गरेका थिए। त्यो दृश्य निकै मार्मिक त थियो नै, उनको अनुहारमा धोखाधडी राजनीतिको पीडाबोध पनि झल्किरहेको थियो।

गिरिजाप्रसाद कोइरालासँग आफूले गरेको गलतीमा प्रायश्चित्त गरेजस्तै अब प्रचण्ड केही दिनसम्म काङ्ग्रेससँग गरेको गठबन्धनमा आफूले धर्म निर्वाह नगरेको भनेर प्रायश्चित्त गरे भने नौलो हुनेछैन। वास्तवमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका देशभरका कार्यकर्ताको मनोविज्ञान दुई दलबीच सैद्धान्तिक फरक भएपनि गठबन्धन भएकोले टुट्नुहुँदैन भन्ने पक्षमा नै थियो। यद्यपि कार्यकर्ता यस मनोभावनालाई नेतृत्वले बुझ्न सकेन। फड्को हान्ने नीतिका कारण काङ्ग्रेस/माओवादी केन्द्रको गठबन्धन आज भड्खालो परेको देखिहालियो। त्यसैले ‘मरता क्या नहीं करता’ भएर काङ्ग्रेसले बाध्य भएर मुख्य प्रतिस्पर्धी दलसँगै गठबन्धन गर्नुपरेको हो।

जेहोस्, राजनीतिक अस्थिरताले नेपाली समाज अत्यन्त निराश छ। देउवाको समर्थनमा ओलीको आगमन र प्रचण्डको बहिर्गमनले नेपाली जनता उत्साहित देखिंदैन। नेपाली जनतामा देखिएको निराशालाई आशा/भरोसामा परिणत गर्न यो मन्त्रिमण्डल सक्षम र योग्य हुनुपर्छ। नवनियुक्त प्रधानमन्त्री ओलीप्रति पनि जनताको मनोविज्ञान खासै राम्रो छैन। हुनत ओलीका प्रशंसकहरू ओलीको देवत्वकरण गर्ने कोशिशमा लाग्छन् नै। ओली महान् राष्ट्रवादी, विकासवादी, निडर आदिआदि भनेर कहिल्यै थाक्दैनन्। तर ओलीलाई छुच्चो बोली, निरङ्कुश तानाशाह, असहिष्णु, उखान टुक्के, कामभन्दा भाषणबाजी धेरै गर्ने, चर्चामा आउन अनावश्यक उट्पट्याङ बोल्ने, प्रतिगमनकारी आदि आरोप लगाउनेहरूको सङ्ख्या पनि कम छैन।

त्यस्तै, ओली सरकार गठन भइरहँदा गिरीबन्धु टि स्टेट, नक्कली भूटानी शरणार्थी, ललिता निवास, ओम्नी आदि काण्ड नै यस गठबन्धनको मुख्य कारक हुन् भनी नागरिक आशङ्का छ। यस्ता आलोचना अनि आरोपको सही ढङ्गले ओली सरकारले सम्बोधन गर्न सक्नुपर्छ। यी सबै प्रतिपक्षले लगाउने राजनीतिक आरोप मात्र हुन् भनेर बेवास्ता ग–यो भने दोस्रो रवि लामिछाने नहोला भन्न सकिंदैन। त्यसैले सरकारले त्यस्तो भूल कुनै हालतमा गर्नुहुँदैन। संविधान संशोधन ‘हात्तीको देखाउने दाँत’जस्तो नहोस्। नागरिकस्तरबाट यी र यस्तै आउन सक्ने प्रश्न, अपेक्षा, चाहना, चासो अनि आरोपहरूको समीक्षा गर्दै जनताको मनोभावना अनुसार ओली सरकार अघि बढ्नुपर्ने हुन्छ।

विगतमा जस्तै फरक मत राख्नेलाई भित्तामा नै पु–याउने, आफूले जे बोल्यो त्यो सही हुने र जे भन्यो त्यो निर्णय हुनुपर्ने हैकमवादी कार्य ओलीले त्याग्नुपर्छ। प्रतिपक्षको भावनाको कदर गर्न सक्नुपर्छ। आफ्नै दुई तिहाइ सरकार चलाउन नसक्नेले गठबन्धनको सरकार के चलाउला भन्नेहरूलाई मुखभरिको जवाफ दिएर आफूलाई परिमार्जित गर्नुपर्छ। राजनीतिक स्थिरता कायम गर्दै जनतालाई प्रत्याभूति दिने सुशासन कायम गर्न सक्नु पहिलो दायित्वको रूपमा लिनुपर्छ। छलछाम, धोखाधडी, लुटलुटा र प्रतिशोधको राजनीतिले कोही किमार्थ राजनेता बन्न सक्दैन। सङ्कटका बेला नै हो नेतृत्वको खोजी हुने। त्यसैले ओलीले पाएको यो अवसरको अगाडि चुनौतीका अनेकन चाङ पहाड बनेर उभिएका छन्। ओली सरकार यी सब समस्याहरूको बडो सुझबुझ अनि दूरदर्शिताका साथ अघि बढ्दै जाओस्, सफल कार्यकालको लागि हार्दिक शुभकामना !

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्