ओली सरकारमा पर्साबाट तीनजना मन्त्री

प्रस, परवानीपुर, ३१ असार/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्साका तीनजना मन्त्री बनेका छन्।
पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादव, क्षेत्र नं २ का अजय चौरसिया, ३ का राजकुमार गुप्ता गरी तीनजना मन्त्री बनेका हुन्। यादव जसपाबाट खानेपानी तथा सरसफाइमन्त्री भएका छन् भने नेकातर्फबाट चौरसियाले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, पर्सा क्षेत्र नं ३ बाट एमालेका सांसद राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन्। यस अघि प्रदीप यादव प्रचण्ड नेतृत्वको ५३ दिने सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री थिए भने सोभन्दा अघिको शेरबहादुर देउवा नेतृत्वको सरकारमा ९९ दिनको सरकारमा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

वैशाख २३ गते जसपा नेपाल फुटेपछि अशोक राई संयोजक रहनेगरी जसपा टुक्रिएको थियो। प्रदीप यादव २०७० को संसदीय चुनावमा पराजित भएका थिए भने २०७४ र २०७९ मा विजयी भएका थिए।

त्यसैगरी, कानूनमन्त्री चौरसिया २०५६ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए। उनी २०७० र २०७४ सालको निर्वाचनमा लगातार दुईपटक पराजित भएका थिए भने २०७९ सालमा विजयी भएका थिए। पदबहालीपश्चात् मन्त्री चौरसियाले जनतालाई न्याय मिल्नेगरी कानून निर्माण गर्ने बताए।

“कानून बनाउने मन्त्रालय भएकोले विधेयकहरू कति छन्, हामीले बनाउनुपर्ने कानूनहरू कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्नेगरी कानून बनाउँछौं,” मन्त्री चौरसियाले
भने।

त्यसैगरी, सङ्घीय मामिला तथा प्रशासनमन्त्री गुप्ता २०७० र २०७९ मा चुनाव जितेका थिए भने २०७४ सालमा पराजित भएका थिए। पर्साका तीनजना सांसद हालको मन्त्रिपरिषद्मा अटाएकाले पर्साको लागि यो ऐतिहासिक क्षण भएको पर्सावासीले प्रतिक्रिया दिएका छन्।

वर्तमान सरकारमा तीनवटा दलबाट तीनजना सांसद मन्त्री हुनु पर्साको लागि ऐतिहासिक र गौरवको क्षण हो। यसलाई अवसरको रूपमा मान्नुपर्ने र पर्साको विकासमा समेत मन्त्रीहरूको ध्यान जानुपर्ने पर्सावासीको माग छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्