जीतपुरसिमरा नगरसभाविरुद्ध उत्प्रेषण परमादेशको आदेश दिन अस्वीकार

प्रस, वीरगंज, २५ असार/

उच्च अदालत अस्थायी इजलास वीरगंजले जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभाविरुद्ध उत्प्रेषण परमादेशको आदेश दिन अस्वीकार गरेको छ।

गत असार १० गते सम्पन्न भएको भनिएको नगरसभा नियमविपरीत रहेको भन्दै उपप्रमुख भोलाप्रसाद अधिकारीसहित वडाअध्यक्ष र कार्यपालिकाका ९१ जना सदस्यले पुनः अर्काे नगरसभाको माग गर्दै नगरप्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उत्प्रेषण परमादेशको माग राखेर आइतवार उच्च अदालत अस्थायी इजलास वीरगंजमा निवेदन दिएका थिए।

उत्प्रेषण परमादेशको माग गर्दै परेको निवेदनमा सोमवार भएको सुनुवाइपछि न्यायाधीश भरत लम्सालको इजलासले मागदाबी अनुसार आदेश दिन अस्वीकार गरेको हो। नगरसभा सञ्चालन नियमावली २०७५ को नियम ५ को उपनियम ४ बमोजिम तेस्रोपटक २५ प्रतिशत कार्यपालिका सदस्यहरूबाट जीतपुरसिमराको नगरसभा सम्पन्न भएको दाबी गरिएको छ।

निवेदकको मागबमोजिम आन्तरिम आदेश दिन अस्वीकार गरेको अदालतले आदेश जारी गर्न नपर्ने कुनै आधार र प्रमाण भए आगामी १५ दिनभित्र पेश गर्न विपक्षीको नाममा म्याद आदेश भने दिएको छ। निवेदकको तर्फबाट अधिवक्ता श्यामबिहारी प्रसाद र दामोदर पौडेलले गरेको बहसपछि अदालतले यस्तो आदेश दिएको हो।

निवेदकले आन्तरिम आदेशको समेत माग गरेको हँुँदा दुवै पक्षलाई छलफलमा झिकाइ दुवैतर्फको दलील सुनेपछि मात्रै आन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त देखिएकोले असार २८ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्