काठमाडौं, २५ असार/रासस

निरन्तरको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा डुबानमा परेकाको स्थानीय तह र सुरक्षा फौजको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–८ गोइँसारस्थित टेङ्ग खोलाको बाँध भत्किएर जोखिममा परेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी एकाइ इटहरी, नेपाली सेना, नेपाल प्रहरी तथा नगर प्रहरीसहितको टोलीले बाँध बाँध्ने कार्य गरिरहेको  उनले जानकारी दिए। त्रियुगा नदीमा जलसतह बढ्दा डुबानमा परेका सप्तरीको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरको सुकुमबासी बस्तीका १६ घरपरिवारलाई सुरक्षा बेस फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको जनाइएको छ।

झापाको झापा गाउँपालिका–२ स्थित सुगाबथानमा माईखोलामा पानीको सतह बढ्दा डुबानमा परेका १० घरपरिवारलाई बिओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको पनि बलले जनाएको छ। सिराहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला नदीमा पानीको सतह बढ्दा नदीको बीच भागमा अड्किएका पाँचजनाको सुरक्षा बेस कल्याणपुर र सुरक्षा बेस दुवरकोटको टोलीले सकुशल उद्धार गरेको छ।

वर्षाका कारण अवरुद्ध काठमाडौंको शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा–कात्तिके सडक सशस्त्र प्रहरीले आजदेखि सञ्चालनमा ल्याएको छ। त्यस सडकखण्डको खहरे ठाडो खोल्सामा आएको बाढीले एकतर्फी सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लप्सीफेदीबाट खटिएको सुरक्षा फौजले पूर्णरूपमा सञ्चालनमा ल्याएको सहप्रवक्ता थापाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here