एसइई सकेका विद्यार्थीलाई सुझावः आफूभित्रको क्षमता पत्ता लगाउनुस्

काठमाडौं, २५ असार/रासस

“तपाईंलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ। जुन दिन त्यो पत्ता लाग्नेछ, त्यसमा घोत्लिएर लाग्नुहोस्, तपाईंको जीवनमा सफलता मिल्छ।”

माध्यमिक शिक्षा परीक्षा (एसइई) पार गरेर कक्षा ११ र १२ को तयारी र भविष्यको योजना बुन्दै गरेका विद्यार्थीमाझ उत्प्रेरणात्मक वक्ता रञ्जीत आचार्यको सल्लाह छ, “जसरी बेलुनभित्र रहेको शक्तिले उसलाई आकाशमा उडाउँछ, त्यसैगरी तपाईंभित्रको ऊर्जाले तपाईंको जीवनलाई सफलतामा लानेछ, केवल तपाईंले आफूभित्रको आगो बाल्न सक्नुपर्छ। त्यो आगो कहाँ छ भनेर थाहा पाउन सक्नुपर्छ।”

उनले उत्कृष्ट हुन्छु भन्ने महत्वाकाङ्क्षा बोकेर वा अरूलाई हराउन खोजेर भन्दा पनि आफैंलाई प्रतिस्पर्धी ठानेर काम गरेमा हरेक समस्याभित्र समाधान भेटिने र त्यसले जुनसुकै पेशामा पनि सक्षम बनाउन सघाउने बताए।

‘केन्द्रबिन्दु प्लस टु एजुकेशन एक्सिलेन्स अवार्ड २०८१’मा ‘करिअर काउन्सिलिङ’ दिंदै आचार्यले उक्त सल्लाह दिनुभएको हो। कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पढेर मात्र नहुने टिप्पणी गरे।

“सीपमूलक शिक्षा अहिलेको आवश्यकता हो। जो भविष्यमा केही गर्न चाहन्छ, उसले चुनौतीमा पनि अवसर देख्छ। तर जो अल्छी छ, उसले अवसरमा पनि चुनौती देख्छ।”

खल्ती एपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमित अग्रवालले  जीवनमा हार नमानी विद्यार्थीले अध्ययनलाई निरन्तरता दिए सफलता चुम्ने आधार तय हुने बताए। “जे पढियो त्यही गर्नुपर्छ भन्ने छैन। शिक्षाको काम सहजताको एउटा आधार हो। हामीलाई बच्चैदेखि गरीब देश भनेर सिकाइयो, तर नेपाल गरीब देश होइन, धनी हो। अहिलेको पुस्ताले यही भावनाका साथ अध्ययनलाई अघि बढाउनुपर्छ।”

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशनका प्रमुख कार्यकारी अधिकृत खेम लकाइले संसारमा सबैभन्दा सुन्दर देशका रूपमा नेपाल रहेकोले यहाँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ इमानदाररूपमा मेहनत गरेमा देशका लागि केही गर्न सकिने सुझाव दिए।

कलाकार निशा अधिकारीले माथिल्लो शिक्षाका लागि विषय रोज्ने क्रममा अरूका कुरा धेरै नसुनेर आफ्नो रुचि र क्षमतालाई आत्मसात् गरेर अघि बढ्न आग्रह गरिन्।

केन्द्रबिन्दु डटकमका प्रधानसम्पादक विदुर खतिवडाले शिक्षा ज्ञानको ज्योति भएकोले यसलाई फैलाउन सकेमा विकास र समृद्धिको ढोका खुल्ने भएकाले अहिलेको पुस्ताले ज्ञानको विस्तार र अवसरको उपयोगका लागि हरदम प्रयास गर्नुपर्नेमा जोड दिए।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा (एमाले) का सचिव योगेश भट्टराईलगायतले उत्कृष्ट १४ सामुदायिक र ३१ संस्थागत विद्यालय तथा शिक्षासेवीलाई सम्मान गरेका थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्