प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादव लालबन्दीमा बसेर चेक काट्दै

शैलेन्द्र झा, रौतहट, २४ असार/

फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादव लालबन्दीमा बसेर चेक काट्दैछन् ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले तलबबाहेक सम्पूर्ण कामकाजको भुक्तानीमा रोक लगाएको कारण प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले कर्मचारीको तलब नदिई कमिशन दिनेहरूको मात्र भुक्तानी गरिरहेका छन् ।

मसलन्द तथा कार्यालय सामग्रीमा ५० लाख, कार्यालय सञ्चालनमा २० लाख, नगर प्रोफाइलमा पाँच लाख, चर्मरोग शिविरमा २८ लाख १६ हजार ६७, विविध खर्चमा २८ लाख, दैनिक भ्रमण भत्तामा आठ लाख, अतिथि सत्कारमा चार लाख ६४ हजार, ट्र्याकसुट खरीदमा १० लाख, नगरसभामा सञ्चालन २० लाख, सवारीसाधन र मेशिनरी औजार भाडाबापत १८ लाख, सिसिटिभी जडानमा २० लाख र मेशिनरी तथा औजार खरीदमा १५ लाखको नक्कली बिल बनाइ लालबन्दीमा बसी चेक काट्न काटिरहेको नगरपालिकाका एकजना कर्मचारीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादव नगरवासीदेखि सम्पर्कविहीन छन् ।

आव २०८०/८१ मा कुनै पनि कारोबार नगर्न उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले अल्पकालीन आदेश दिएको कारण उनीहरू सम्पर्कविहीन भएका बताइएको छ ।

फतुवा विजयपुर नपा–१ का विजयकुमार यादवले दिएको रिट निवेदनमा सो आदेश जारी भएको थियो ।

अस्थायी इजलास वीरगंजले असार १७ गतेका दिन तलबबाहेक सम्पूर्ण कामको भुक्तानीमा रोक लगाएको

थियो ।

इन्जिनीयर धर्मेन्द्र यादवलगायत ५० जना करारका कर्मचारीले तीन महीनादेखि तलब नपाएको भन्दै नगरपालिकामा तालाबन्दीसमेत गरेका छन् ।

यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत प्रधान तथा लेखापाल यादवले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्