प्रस, परवानीपुर, २४ असार/
वीरगंज महानगरपालिका–२५ श्रीसिया सुक्खा बन्दरगाहस्थित रामजानकी मन्दिरनजीकै रहेको सोमनाथ डीप ट्युबेल जल उपभोक्ता समितिको गएराति ट्रान्सफर्मर चोरी भएको छ ।
चोरहरूको समूहले ५० केभिएको ट्रान्सफर्मर चोरेको समितिका सदस्य महम्मद सगीर हवारीले जानकारी दिए । करीब २० बिघा खेत सिंचाइ गर्न दुई वर्षअघि वीरगंजस्थित भूमिगत जलस्रोत विकास डिभिजन कार्यालयको रु पाँच लाख बजेटमा सो ट्रान्सफर्मर जडान भएको थियो । चोरहरूले फ्युजको तार र ट्रान्सफर्मरको तार काटेर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
ट्रान्सफर्मरमा रहेको तामा र तेलको लागि चोरहरूले ट्रान्सफर्मर चोर्ने गरेको स्थानीय किसान रमेश पटेल बताउँछन् ।
यस विषयमा उपभोक्ता समितिले स्थानीय श्रीसिया प्रहरी चौकीबाट मुचुल्का उठाइ वीरगंज–२५ श्रीसिया वडा कार्यालयबाट सिफारिश गराएर भूमिगत कार्यालयलाई जानकारी गराउने बताएको छ ।
भूमिगत कार्यालयका इन्जिनीयर केशव पटेलले पछिल्लो समय बारा, पर्सामा भूमिगत सिंचाइ आयोजनाका विभिन्न ठाउँमा गाडिएका डीप ट्युबेल सञ्चालनको लागि जडान गरिएका ट्रान्सफर्मरहरू चोरी गर्ने गिरोह सक्रिय भएको बताए । दुई वर्षको अवधिमा पर्सामा सात र बारामा पाँच गरी १२ वटा ट्रान्सफर्मर चोरी भएको उनले बताए ।
यसबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जानकारीसहितको उजूरी गर्दासमेत हालसम्म एकजना चोर पनि पक्राउ नपरेको र दुई वर्षमा करीब रु ६० लाख बराबरको ट्रान्सफर्मर चोरी भएको इन्जिनीयर पटेल बताउँछन् ।
यस अघि वीरगंज–२८ बगही, वीरगंज–३१ बेलवा र कोनिया, बाराको तेलकुवा, गंजभवानीपुरलगायत गाउँमा जडान गरिएको जल उपभोक्ता समितिको ट्रान्सफर्मर चोरी भएको उनले जानकारी गराए । सक्रिय चोर समूहलाई कानूनी दायरामा ल्याइ कारबाई प्रक्रिया अगाडि बढाउन उनले माग गरे ।