काठमाडौं, २४ असार/रासस

ई–स्पोट्र्स सङ्घ नेपालको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय ई–स्पोट्र्स च्याम्पियनशिपका पदक विजेतालाई सोमवार पुरस्कृत गरिएको छ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले आज मोबाइल लिजेन्ड र ई–फूटबलका पदक विजेता खेलाडीहरूलाई नगदसहित पुरस्कार प्रदान गरे। उक्त प्रतियोगिता सुर्खेतमा यही असार १४ र १५ गते भएको थियो।

प्रतियोगितामा मोबाइल लिजेन्डमा शीर्ष आठ स्थान हासिल गर्ने क्रमशः हाई भोल्टेजले रु ६० हजार, कोड रेडले रु ४० हजार, सिक्सटी नाइन गेमिङले रु ३० हजार, वीरे नूनले रु २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान रु १५/१५ हजार प्राप्त गरे। गुड नाइटले रु १० हजार नगद पुरस्कार पायो।

यसैगरी, ई–फूटबलमा पहिलो भएका गौरव पुडासैनीले रु ४० हजार, दोस्रो भएका सन्देश ओझाले रु ३० हजार, तेस्रो भएका रोशन शर्माले रु २० हजार तथा चौथो भएका निखिल हमालले रु १० हजार नगद पुरस्कार प्राप्त गरे।

सदस्यसचिव घिसिङले ई–स्पोट्र्स सङ्घलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा बधाई दिंदै अझ व्यवस्थित ढङ्गले अगाडि बढाएर देशको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम बनाउनुपर्ने बताए।

उनले ई–स्पोट्र्स समाजको विकास चरणले मागेको खेल भएको बताउँदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई दृष्टिगत गरी त्यहीअनुरूप सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए।

राखेपका सदस्यसमेत रहेका ई–स्पोट्र्सका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकामा राखेपलाई धन्यवाद दिंदै वार्षिक पात्रो नै तयारी गरी सङ्घ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here