कोलेस्ट्रोल एउटा साइलेन्ट किलर हो, जसले तपाईंको मुटुको स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ। अहिलेसम्म उच्च कोलेस्ट्रोलसँग सङ्घर्ष गरिरहेका भारतीयहरूका लागि यसलाई नियन्त्रण गर्न कुनै विशेष दिशानिर्देश थिएन। तर अब यो प्रतीक्षा सकिएको छ। पहिलोपटक भारतले उच्च कोलेस्ट्रोलसँग लड्न महत्वपूर्ण हतियार लिपिड व्यवस्थापनका लागि नयाँ दिशानिर्देश पाएको छ। यी दिशानिर्देशहरू भारतीयहरूको आहार र जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको हो। चिकित्सकहरूले यस दिशानिर्देशबाट बिरामीहरूको राम्रो उपचारमा पनि मदत पाउनेछन्।
अहिलेसम्म भारतीय हृदयरोग विशेषज्ञहरूले सन् २०१९ मा युरोपियन सोसाइटी अफ कार्डियोलोजीको दिशानिर्देश पालना गर्दै आएका थिए, तर अब पहिलोपटक भारतमा उच्च कोलेस्ट्रोल वा डिस्लिपिडेमिया नियन्त्रणको लागि भारतीय दिशानिर्देश तयार गरिएको छ। भारतको २२ सदस्यीय कार्डियोलोजिकल सोसाइटी अफ इन्डिया (सिएसआई) समितिले जुलाई ४ का दिन यी दिशानिर्देशहरू जारी गरेको छ।
डिस्लिपिडेमिया एउटा यस्तो अवस्था हो, जसमा रगतमा उच्च कोलेस्ट्रोल वा ट्राइग्लिसराइड्सजस्ता बोसो (लिपिड)को असामान्य स्तर हुन्छ। यो असन्तुलनले हृदयरोग, स्ट्रोक र अन्य स्वास्थ्य समस्याको जोखिम बढाउन सक्छ। सामान्यतया यो आहार, व्यायाम र औषधिमार्फत नियन्त्रण गरिन्छ। डिस्लिपिडेमियालाई साइलेन्ट किलर भनेर चिनिन्छ किनभने यसमा कुनै लक्षण हुँदैन। तर पनि यो हृदयरोग, स्ट्रोक र पेरिफेरल आर्टरी डिजिजजस्ता हृदयरोगहरूको प्रमुख सूचक हो।
तपाईंको लिपिड प्रोफाइल कसरी थाहा पाउने ?
कुल कोलेस्ट्रोल (लिपिड प्रोफाइल) रगत परीक्षणमार्फत मापन गरिन्छ। स्वास्थ्यकर्मीले सामान्यतया तपाईंको हातको नसाबाट रगतको नमूना लिन्छन्। त्यसपछि प्रयोगशालामा यस नमूनाको विश्लेषण गरेर कुल कोलेस्ट्रोलको मात्रा निर्धारित गरिन्छ, जसमा कम–घनत्व लिपोप्रोटिन (एलडिएल), उच्च–घनत्व लिपोप्रोटिन (एचडिएल) र ट्राइग्लिसराइड्सको अंश समावेश हुन्छ। नयाँ दिशानिर्देश अनुसार कोलेस्ट्रोलको न्यूनतम स्तर १०० मिलिग्राम/डेसिलिटर (मिलीग्राम प्रतिडेसिलिटर)भन्दा कम हुनुपर्छ।
भारतमा उच्च कोलेस्ट्रोल बोझ : भारतमा उच्च कोलेस्ट्रोल स्तर सामान्य हो, तर यो समस्या विशेषगरी शहरी क्षेत्रमा बढी देखिन्छ। भारतमा हृदयरोगको उच्चदर र विश्वमा सिबिडीको कारण हुने सबैभन्दा बढी अकाल मृत्युदरलाई ध्यानमा राख्दै चिकित्सकहरूले यी लिपिड दिशानिर्देश जारी गरेका छन्। सिएसआईको अध्ययन अनुसार राजस्थान, गुजरात, तेलङ्गाना र मणिपुरबाहेक भारतका लगभग सबै राज्यमा बसोवास गर्ने मानिसहरूमा एचडिएल–कोलेस्ट्रोल (राम्रो कोलेस्ट्रोल)को स्तर कम भएको पाइएको छ। जबकि हाइ एलडिएल कोलेस्ट्रोल (खराब कोलेस्ट्रोल)को स्तर उत्तरी क्षेत्र, केरला र गोवामा उच्चतम पाइएको छ।