भारत प्रशासित काश्मीरमा भएको गोली हानाहानका दुर्ईवटा छुट्टै घटनामा दुईजना सैनिक र छजना संदिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतवार जनाएको छ।
काश्मीरका प्रहरी महानिरीक्षक विधिकुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाई’ गरिएको बताए।
बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका र मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप जारी रहेको बताए। “हामीले मोडेरग्रामबाट दुई आतङ्ककारी र फ्रिसल चिन्निगामबाट अन्य चारजना आतङ्ककारीको शव बरामद गरेका छौं,” बिर्दीले भने।
विवादित क्षेत्रमा आक्रमणको यो पछिल्लो घटना हो। भारत र पाकिस्तान दुवैले मुस्लिम बहुल काश्मीरलाई पूर्णरूपमा आफ्नो क्षेत्र दाबी गर्छन् र यसको नियन्त्रणका लागि तीनवटा युद्ध लडेका छन्।
विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन्। द्वन्द्वले १०औं हजार नागरिक, सैनिक र विद्रोहीहरूको ज्यान लिएको छ। रासस