अविरल वर्षाका कारण आएको बाढी पहिरालगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन्।
गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएका बाढी र पहिरामा परी आइतवार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
बाढी, पहिरामा परी काठमाडौंमा एक, कोशी प्रदेशमा ११, मधेस प्रदेशमा दुई, बाग्मती प्रदेशमा दुई, गण्डकी प्रदेशमा १९, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा दुई तथा सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको छ।
यसैगरी, बाढी, पहिरा तथा विपद्का कारण काठमाडौंमा तीन, कोशी प्रदेशमा ११, मधेस प्रदेशमा चार, बाग्मती प्रदेशमा चार, गण्डकी प्रदेशमा १८, लुम्बिनी प्रदेशमा दुई, कर्णाली प्रदेशमा ११ तथा सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ५४ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए।
उनका अनुसार बाढी, पहिरामा परी कोशी प्रदेशमा तीन, बाग्मती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक तथा कर्णाली प्रदेशमा एक गरी सातजना बेपत्ता भएका छन्। यसैगरी, बाढीका कारण १२१ घर डुबानमा परेका छन्। जस अन्तर्गत ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढी पहिरामैं परी १८८ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट एक हजार ५८ घरपरिवार विस्थापित भएका छन्।
भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको तथा कोशी, नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ। देशैभरि तीनवटै सुरक्षा निकाय हाई अलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।