ओमप्रकाश चौधरी, सेढवा, २१ असार/

वर्षा शुरू भएपछि पर्साको ग्रामीण भेगका किसानहरूलाई धान रोपाइँ गर्न भ्याइनभ्याइ भएको छ। बीउ छरेको एक महीना बितिसक्दा पनि पानी नपर्दा किसानहरूले रोपाइँ गर्न सकेका थिएनन्। बीउ राखेको २२ दिनपछि रोपाइँ गरिन्छ। तर समयमैं पानी नपर्दा रोपाइँ ढिलो भएको हो।

पर्याप्त पानी नपर्दा विभिन्न स्रोतबाट सिंचाइ :  रोपाइँका लागि पर्याप्त वर्षा नहुँदा किसानहरूले विभिन्न स्रोतबाट सिंचाइ गरी रोपाइँ गरिरहेका छन्। पानी परे पनि खेतमा पानी नलाग्दा बाँध, पैनी, कुलोबाट सिंचाइ–रोपाइँ गरिरहेका छन्। यसका साथै भूमिगत सिंचाइ अन्तर्गत दमकल तथा मोटर जडान गरी सिंचाइ गरिरहेका छन्। जिल्लाको दक्षिणी भेगका किसानहरूले गण्डक नहरको पानी प्रयोग गरी सिंचाइ गरिरहेका छन् भने नहरसँगै उत्तरतर्फको जमीनमा सिंचाइको अभावमा रोपाइँ गर्न समस्या भएको किसानहरूको गुनासो छ। यस क्षेत्रमा बोरिङ जडान पनि न्यून भएका कारण सिंचाइमा समस्या भएको किसानहरूको भनाइ छ।

बढी उत्पादनका लागि विभिन्न जातका उन्नत बीउको विकास भएसँगै किसानहरूले आआप्mनो रोजाइ अनुसार धानबाली गर्ने गरेका छन्। किसानहरूले सोना मन्सुली, मनी मन्सुली, भदई मन्सुली, हर्दिनाथ–१ (१४४२), कतरनी, बासमती, शङ्कर–१, हाइब्रिड जातका धान बाली रोपाइँ गरिरहेका छन्। विगतमा

परम्परागत धानबाली अन्तर्गत मन्सुली, अठैसा, मकवानपुर, अनन्दी, चाइना बोर, पुरानो बासमती, जोगनी, बार्छालगायत धानको भात मीठो भएपनि उत्पादन कम हुने हँुदा यी बाली विस्थापित भएको जीराभवानी गाउँपालिका–२ का किसान रामशरण खवास बताउँछन्। ती बालीको उत्पादन ८० देखि १०० किलोग्राम प्रतिकट्ठा हुने उनले बताए। किसानहरूले अहिले लगाउने गरेको धानका जातबाट चारदेखि आठ मन (१६० देखि ३२० किला) प्रतिकट्ठा उत्पादन हुने चौधरी बताउँछन्।

ग्रामीण भेगका युवाहरू रोजगारका लागि खाडी मुलुक पलायन भएका तथा स्वदेशकै विभिन्न शहरतिर लागेका कारण अहिले खेती गर्न ज्यामीको अभाव देखिएको छ। रोपाइँ कार्यमा आली लगाउने, बीउ उखेल्ने, बीउ ओसार्ने,

रोपाइँ गर्ने ज्यामीको अभाव छ। एक बिघा जमीनमा रोपाइँ गर्न एकपटकमा तीसजनाभन्दा बढी ज्यामी आवश्यक पर्ने हुँदा अहिलेको बेला ३–४ दिन लाग्ने गरेको किसानहरूले गुनासो छ।

ज्यामीको ज्याला पनि बढेको छ। सामान्य अवस्थामा पुरुष ज्यामीको ज्याला  पाँच सय रुपियाँ र महिलाको दुई सय रुपियाँ र खाना तथा खाजा प्रतिदिन थियो। अहिले रोपाइँको समयमा भने दैनिक ज्यालादारीमा ज्यामी पाइँदैन। ज्यामीहरूले समूह बनाइ हुन्डामा काम लिन थालेका छन्। एक बिघा जग्गाको आली बनाउन चार हजार, बीउ उखेलेको चार हजार, रोपाइँ गरेको चारदेखि छ हजार तोकिएको छ। पुरुष ज्यामीले एक दिनमा तीन हजारसम्म कमाउने गर्छन्। त्यस्तै, यस भेगका महिला ज्यामीहरू ठोरी गाउँपालिका गएर काम गर्दा दैनिक एक हजारसम्म र अन्य गाउँपालिकामा पाँच सय रुपियाँ नगद र खाना तथा खाजा पाउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here