वीरगंज महानगरपालिकाको आयोजनामा शनिवार वडा नं २५ सुक्खा बन्दरगाहचोकमा वृक्षारोपण गरिएको छ। महानगरको आयोजना तथा राष्ट्रपति चुरे तराइ–मधेस संरक्षण समिति भरतपुर, साहिब दरबार र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको सहकार्यमा भएको वृक्षारोपण कार्यक्रमको नगरप्रमुख राजेशमान सिंहले बिरुवा रोपेर उद्घाटन गरेका थिए।
उनले गहवामाई रथ यात्राको दोस्रो वर्षको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताए। सुक्खा बन्दरगाह चोकदेखि परवानीपुर जाने सडकखण्डमा नौ सय विभिन्न प्रजातिका बिरुवाहरू रोपिएकोे उनले बताए। कार्यक्रममा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत डिएस मीना, ग्रीनसिटीका जयप्रकाश खेतान, ट्राफिक प्रमुख भास्कर खतिवडा, महानगरका सरसफाइ महाशाखाका प्रमुख सर्फुद्दीन अन्सारीलगायतको सहभागिता थियो।