कृषि कर्जाको अनुदान दुरुपयोग नभएको गभर्नर अधिकारीको स्पष्टोक्ति

काठमाडौं, २२ असार/रासस

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग नभएको स्पष्ट गरेका छन्।

शनिवार आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरुपयोग नदेखिएको बताए। केही व्यक्तिबाट दुरुपयोग भएको देखिएकामा असुल प्रक्रिया पनि प्रारम्भ भइसकेको उनले बताए।

“कृषि कर्जाको अनुदान दुरुपयोग भएको भन्ने सतही कुरा हुन्। यो सफल कार्यक्रम देखिएको छ र अनुदानको प्रभावकारिता राम्रो छ,” गभर्नर अधिकारीले भने, “हाम्रो अध्ययनका क्रममा निकै सानो सङ्ख्यामा मात्रै यस्तो कर्जा दुरुपयोग भएको देखिएको छ। यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ।”

सरकारको योजना अनुसार अर्थ मन्त्रालयले युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेर कार्यविधि अनुसार नै अनुदान उपलब्ध गराइएको गभर्नर अधिकारीले दाबी गरे। हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेका उनले बताए। यो कार्यक्रम विवादमा परेपछि विसं २०७९ असोजयता अनुदान नदिइएको उनले स्पष्ट पारे।

उद्यमशीलता विकास एवं रोजगार सिर्जना र वित्तीय पहुँच तथा साक्षरता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए। पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थाहरूमा भने यस्तो समस्या नआएको उनको भनाइ छ। विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि गभर्नर अधिकारीले उल्लेख गरे।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदानको दुरुपयोग भएको धारणा राखेका थिए। नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किंदै गएकाले उनीहरूले लगानी गर्न नचाहेको उनले बताए।

साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए। “यस लघुवित्तले साना किसान कृषि सहकारीमार्फत कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगार सिर्जना गरी आन्तरिक उत्पादनमा योगदान पुगेको छ,” उनले भने।

साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको बताउँदै कार्यकारी अधिकृत कोइरालाले देशभरका ५५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको जानकारी दिए। हाल साना किसानले ११ लाखभन्दा बढी परिवारका ४५ लाख जनसङ््ख्यालाई सेवा दिइरहेको उनले बताए।

कृषि प्रविधि सिक्ने युवालाई इजरायल पठाइएको भन्दै उनीहरू स्वदेश फर्किएर कृषि कर्ममा लागेका लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)बाट कृषि तथा भेटेरिनरी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको, किसानलाई भारतसहित विभिन्न देशमा अवलोकन भ्रमणलगायत विविध क्रियाकलापमा सहभागी गराइएको उनको भनाइ छ।

एशियाली विकास बैंकबाट कर्जा लिएर लघुवित्तले ग्रामीण उद्यम कर्जा (आरइएफ) सञ्चालन गरेको कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए। साना किसान, विपन्न तथा पछाडि परेका समुदाय, महिला, सीमान्तकृत वर्गका लागि सरल र सहज कर्जा उपलब्ध गराइरहेकाले साना किसान लघुवित्तबाट सञ्चालित कामको नतीजा प्रभावकारी देखिएको उनको दाबी छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्