सर्लाहीमा धमाधम रोपाइँ

नितेश कर्ण, सर्लाही, २१ असार/

सर्लाहीका किसानलाई धान रोपाइँको चटारो भएको छ। जिल्लाभरिका किसानहरू रोपाइँमा व्यस्त भएका बेला खेतमा धान रोप्ने किसान र मजदूरहरूको लर्काे लागेको छ।

धानको बीउ तयार भइसकेपछि किसानहरूले रोपाइँ शुरू गरेका छन् भने बीउ तयार हुन बाँकी किसानहरू रोपाइँका लागि खेत तयार गरिराखेका छन्।

जेठमा पानी नपरेकोले रोपाइँको लागि छरेको धानको बीउ चर्काे घामका कारण राम्रोसँग उम्रिन नपाउँदै ब्याडमैं सुकेर कम भएपनि ब्याडमा रहेका छोटा बीउ रोपेरै भएपनि रोपाइँ गरिरहेको किसानहरूले बताएका छन्।

कृषि ज्ञान केन्द्र सर्लाही, मलङ्गवाका कृषि अधिकृत सीताराम यादवका अनुसार जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमध्ये हालसम्म पाँच प्रतिशतमा मात्र धान रोपाइँ भएको छ। यस जिल्लामा प्रतिहेक्टर तीनदेखि साढे तीन मेट्रिकटन धान उत्पादन हुने गरेकामा गत वर्ष पाँच प्रतिशतले वृद्धि भएको थियो। उनका अनुसार गत वर्ष सिजनको सुरुआतमा पानी नपर्दा रोपाइँ कम भएको र पछि सिजनको अन्त्यतिर आएर वर्षा भएपछि रोपाइँ राम्रो हुँदा धान उत्पादनमा केही प्रतिशतले वृद्धि भएको थियो।

असारको दोस्रो हप्ता लागेपछि ढिलो गरी सक्रिय भएको मनसुनका कारण समयमा रोपाइँ नभएको र हालसम्म पाँच प्रतिशत मात्र रोपाइँ सम्पन्न भएकोले यस वर्ष धानको उत्पादन बढ्ने अथवा घट्ने भन्ने विषयमा केही बताउन नमिल्ने कृषि अधिकृत यादवले बताए।

जिल्लाको पूर्वी क्षेत्रमा खेतीपातीको लागि पर्याप्त मात्रामा सिंचाइ सुविधा नपुगेकोले सो क्षेत्रका किसानहरू आकाशे पानी र स्यालो ट्युबवेल तथा बोरिड्ढो भरमा खेती गर्दै आएका छन् तर पश्चिम क्षेत्रमा सिंचाइका लागि बाग्मती तथा झिम नदी र मनुष्मारा सिंचाइ आयोजनाको पानी किसानको खेतसम्म पुगेकोले उनीहरूलाई आकाशे पानीको भर छैन।

सिंचाइ आयोजनाको पानी पुग्न नसकेका केही स्थानमा मात्र स्यालो ट्युबवेल तथा बोरिङबाट खेती हुने गरेको छ। जिल्लामा रहेका विभिन्न सिंचाइ आयोजना तथा नदीहरूबाट जम्मा ५२००४.८ हेक्टर तथा स्यालो ट्युबवेलबाट १८ हजार १३० हेक्टर क्षेत्रफलमा सिंचाइ हुँदै आएको कृषि ज्ञान केन्द्र, मलङ्गवाले जनाएको छ।

किसानको आवश्यकता अनुसार मलखाद पर्याप्त मात्रामा आइसकेको र प्रदेश सरकारका कृषिमन्त्रीले समेत जिल्लामा मलखादको आपूर्तिमा कमी हुन नदिन आदेश जारी गरिसकेकाले यस वर्ष किसानलाई मलखादको अभाव नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रत्येक वर्षझैं यस वर्ष पनि रोपाइँकै सिजनमा आएर कृषि मजदूरको अभाव उत्पन्न भएको छ। अधिकांश युवा मजदूरी गर्नका लागि भारतका दिल्ली, पञ्जाब, लुधियाना, मुम्बई, तमिलनाडु, मद्रासलगायतका ठाउँहरू तथा वैदेशिक रोजगारमा गएकाले धान रोप्ने तथा अन्य बाली लगाउने बेला खेतमा काम गर्ने मजदूर पाउन मुश्किल पर्ने गरेको किसानको गुनासो छ।

सर्लाही जिल्लामा छिटफुट लोकल जातका धानबाहेक सबैभन्दा बढी हर्दिनाथ–६, ललका बासमती, सोना मन्सुरी सब–६, स्वर्ण सब–१ र सुक्खा–३ जातका धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्