लटरमेश्वर महादेव

प्रत्येक मानिस यो जीवनमा जीवितै छु भानमा हुन्छ। भन्नको निमित्त जीवनको अमूल्य समय बेचिरहेको हुन्छ, जीविकोपार्जन गर्ने हेतुले। ऊ यो जीवनको भङ्गालोमा यसरी अल्झिएको हुन्छ कि मानौं करेलाको लहरोले किम्बुको झारलाई बेरेर टेकेर आकाशै नापुला जस्तो। ठ्याक्कै तेस्तै मानवजगत्मा जीवित रहेका मानवहरू अजीवित रोबोर्टझैं निरन्तर रुमलिएका हुन्छन्। परिवार, घर, साथी, पढाइलिखाइ, छोराछोरीको पढाइ, बाआमाको उपचार खर्च जस्ता नितान्त खर्चको जोहो जसोतसो बाँट्छ। गरून् पनि किन नाइँ। ऊ यी सबमा यति अलमलिन्छ कि उसले जीवन जिउनै बिर्सिसकेको हुन्छ। ऊ केवल जिउँछ, बाँच्नको निम्ति। न कि जीवन जिउनको निमित्त।

कहिलेकाहीं समयले यस्ता प्रश्नहरू तेस्र्याउँछ कि जसको उत्तर खोज्न हामीलाई उकुसमुकुस हुन्छ, एक प्रकारको डाहा हुन्छ। तर ती उत्तरहरू पाउनु अघि नै हामीले बिर्सिसकेका हुन्छौं। ती प्रश्नहरू पर्खाल बनिदिन्छन्, जसको उत्तर भेटिंदैन या खोजिने प्रयास गरिंदैन।

जीवन ताल होइन कि एकै ठाउँमा कञ्चन बनेर बसोस्। जीवन नदी हो। हिमालको कोखबाट जन्मिएर पहाडका खोंचहरू छिचोल्दै, समतल तराईका फाटहरूलाई उर्वर बनाउँदै गन्तव्य ३० लाग्छ र सागर महासागरमा मिसिन्छ। मिसिनु अन्त्य होइन, सुरुआत हो।  कुनै एक ठाउँको अन्त कुनै अर्काे ठाउँको सुरुआत हुन्छ।

संसारको महान् ढोंगी, त्यो हो जसले आफूलाई नै समय छैन यार कसरी गर्ने ? भन्छ। या त ऊ पूर्णरूपमा अल्छी हुनुपर्छ, या त ऊ ढोंगी। तर म भने ति ढोंगीमा पर्दिनँ म दिनमा समय बेचे पनि रातमा आफ्नोलागि जिउने गर्छु। जस्तोसुकै भीडमा पनि आफ्नोलागि समय निकाल्ने गर्छु। आफूले आफैंलाई आफ्नैलागि व्यस्त तालिकाबाट समय खर्चने गर्छु।

तराईको तातो गर्मी र कामबापत आउने तलबभत्ता आएसँंगै तनाव कम गर्न कतै जाने निधो गरें। लामो दिनको लागि कतै जाऊँ, काममा पाएका नयाँ जिम्मेवारी छोड्नु उचित लागेन। सानै भएपनि समय मिलाएर कतै पदयात्रा जानु पर्ला।

शुक्रवारको दिन हुदो हो कल गरे। कल उठेन। कलेजको गेटबाट बाहिर निस्किएको मात्र के थिएँ मोबाइल बज्यो।

उसले भन्यो– कल गरेको थिइस् ?

कहाँ हो घरमा ?

चिया खान हिंड्, मैले भनें।

ऊ प्रसन्न। कहाँ जाने ?

के कहाँ जाने ? जा जाँदानि भैगो। धानुसको चिया मीठो छैन, त्यहाँ छोडेर जतानि जाम। मैले भनें।

जाम मेडिकल कलेज ?

किन ? तेति पर यतै गए भैगो त ? मैले भनें।

हरियाली छ त्यता। हे हे हाँसेको भावमा उत्तर आयो।

ल ल जाम्नत।

उसले आशा गरेको हरियाली, जेठको तराईको घाममा नदेखिएपछि। निराश भयो।

उसले चिया खान छोडिसकेको रहेछ। ऊ चिया हैन हट कफी विदाउट सुगर भइसकेको रहेछ। हामी दुर्ई भौतिकरूपमा मात्र सँगै थिएम्, एकै टेबलमा तर वास्तवमा हाम्रो ध्यान सोसल मेडियामा थियो। हामी एक टकले मोबाइलमा बिजिथ्यम। कुनै भर्खरै आएको अपरिचितले हेर्ने हो भने हामी बेल्लाबेल्लै बसेको भन्ठान्थे होला।

टिकटकको रिलमा एक रिल भेटियो। ए त्यो रिल मतिर देखाउँदै भन्छ। क्या सही यार कुन ठाउँ हो यो।

मैले नि त्यो रिल हेरें। अ यार। जाम गैदिम। पत्ता ला त कहाँ को हो।

लटरमेश्वर महादेव। मकवानपुर। जाम जाने। ४ बझिरॉछ बेल्कासम्म पुगिन्छ ? उसको उत्तेजना। हैट यति पर छ ठिङ्गन कहाँ भ्याउँछ। झन्डाझन्डै काठमाडौं।

भोलि जाम ? बरु बिहानै। के छ विचार। डन।

चिया र कफीबीचको मात्र हैन, यो सम्बन्ध बालपनमा सँगै एक बेन्चमा जोडिएको भएर होला। मीठो र राम्रो थियो।

बिहानै उसको कल आयो– उठिस् ? उठिसकें ? झूट न बोल छिटो फ्रेस हो।

ल ल १० मिनेटमा तेरो दैलोमा।

यात्रा वीरगंज, हेटौंडा, मकवानपुरगढी, ठिङ्गन, काठमाडौं जाने पहाडी लोकमार्ग कान्ति लोकराजपथको घुम्ती, उकाली–ओराली सँगसँगै बग्दै हामी। ठिङ्गनबाट लोकमार्गको चिल्लो बाटो छुट्टिएर उत्तरतिर उकालो र कच्चा बाटाहरूमा जान्छम् देखेका यात्रालाई पकाउन।

बाटो जस्तो थियो, तेस्तै नै थियो हामी हरेक दोबाटोमा रूकेर सोधिने प्रश्नहरू। दाजु/दिदी यो लटरमेश्वर महादेव जाने बाटो कुन हो ?

यो बाटो न छोडीकन सीधै जानू।

फेरि केही बेरमैं त्यही गति। एकपटक तीन घुम्ती आयो र बाटो हराएम् कि भनेर हामी त्यही केही बेर बसेम्। कोही आउलान् र बाटो सोधम्ला भनेर।

लास्टै यार यसो केही एरोहरू लगाको भएनि हुनेनि। मैले भनें।

साथीले मेरो कुरामा हमा ह थप्दै भन्छ– तेही त थाहा भएको भए म पेन्टिङ स्प्रे लेर आउँथें। एरोले बाटो देखाउँथें। म आफैं बनाइदिन्थें।

पेन्ट स्प्रे त परको कुरा हामीले त हावा तालमा हिनेर होला यसो खानलाई केही नि लगेको रहेनछम्। त्यो नि एक ग्रुपका भाइहरूले टन्न सामान बोकेको देखेर याद भयो।

हामी पसल खोज्छम् तर हाम्रो भाग्य पसल नि पाएन। र ती भाइहरूलाई फकाउँदै साथीले खानेकुरा किन्ने प्लान बनाउँछ तर ती भाइ मेरो साथीभन्दा चलाख दिंदैनन्।

जाम माथि पाउँछ। हिन्न।

केही माथि गएसि एकजना बा घाम तापेर बसिरहेका थिए। त्यो पसलबाट माग बमोजिमको सामान नभएनि आवश्यकता अनुसारको सामान चै पाएम् त्यहीं लेर हामी।

जुत्ताका तुनासँगै एक नयाँ गन्तव्यको बाटो कस्छम्। तलतल केही बस्ती भएनि माथि खासै केही थिएन। एकान्त मन पराउनेहरूको लागि गन्तव्य सूचीमा पर्नुपर्ने तर। छैन।

कतै सजिला सिढीका खड्किला कतै ठाडो उकालो कतै भीर कतै ओरालो। हामी यसलाई पालैपालो उकलिंदैथ्यम्। वास्तवमा हाइकिड्ढो यात्रा र जीवनको यात्रा उस्तै लाग्छ मलाई। यात्रापछिका सफलता यति सुन्दर हुन्छन् कि ती यात्राका बेला छाडिएका सङ्ग्रहका ठोबहरूको पीडा र बेथा केही हैन। यात्रा जति कठिन त्यति नै सुन्दर गन्तव्य।

स्वाँ स्वाँ स्वरमा म भन्छु। बसम् यार।

म त थाकेकै छैन। स्वाँ स्वाँ स्वाँको लयमैं भन्छ। उसको स्वरमा यति थकाइ थियो तर मनमा थिएन।

तँ हैन म थाकेको छु बस। मैले भनें।

ऊ ज्ञानी विद्यार्थीझैं लुसुक्क छेउमा बस्यो।

बादलहरू पहाडमा ठोकिंदा रूखलाई छिछोल्दै बतासझैं बगिरहेथ्यो। लाग्दै थियो कि कसैले फ्रीज खुल्लै छोडदिएको छ। तर त्यो प्राकृतिक फ्रीज थियो। प्राकृतिकरूपमा हामी कति धनी छम् है।

त्यही तल वीरगंजमा ४०/४१ तापक्रम यता २१ केवल ८० किलोमिटरको यात्रामा २० को फरक।

सुनसान जङ्गल सुस्त सुसेलिरहेको थियो, आफ्नै स्वरमा। रूखका पातहरू नाचिरहेका थिए, चीसा हावाका चालमा। ढुकुर, कोइली मुखमा चारो बोकी ललाइरहेका बचेरहरूलाई ख्वाइरहेका थिए। चिरचिर स्वरमा। शहरको कोलाहलबाट कोस पर एक्लै रमाइरहेका थिए एक जोडी ढुकुर।

सुस्तसुस्त हिंड्दै गरेका केही वटुकहरूलाई छोड्दै। विद्यार्थीको हुलमा मिसिन पुगेम् हामी। सायद ती हेटौंडाको कुनै कलेजको समूह हुनुपर्छ। तिनका गति हाम्रो गतिसँग मेल खाएन। हामी तिनलाई नि छिछोल्दै अघि बडेम्। अलि माथि गएपछि केही चौतारो बस्ने ठाउँ र केही बढी नै भीड भेटेम्। त्यहाँबाट काठमाडौं, ललितपुर हँुदै आउने एक लर्काे रूट रै‘छ। र दुईवटा साना पसल। तल गाउँमा नपाएको सामान त्यहाँ पाउँदा मेरो साथी अघिभन्दा बढी खुशी भयो। केहीबेरको आरामपछि गन्तव्यमा लागेम्।

यात्रामा शरीर थाकेको हुन्छ, तर मन थाक्या हुँदैन, जहाँसम्म पैतालाहरू पुग्छन्, त्यहाँसम्म शरीर पुग्छ, जहाँ पैतालाहरू पुग्दैनन्, त्यहा आँखा टेकिन्छ र पुगिन्छ।

पातलो भीर बायाँ र दायाँतिर कति गहिरो थियो थाहा भएन। बादलहरू लडीबुडी गरेर दृश्य धमिलो भाथ्यो।  ठाडो सिढीको ओरालोमा धन्न दायाँ र बायाँ रेलिङ बनेको रहेछ। उत्रने र उक्लने सिढी एकै भएकोले थोरै बेर कुर्नुपर्ने। ट्राफिक जाम भएको थियो। केहीबेरमा हाम्रो पालो आयो, हामी पनि हाम्रो गन्तव्यको अन्तिम सिढी चढ्दै थेम्।

पहाडको खोपमा शिव र पार्वतीको मन्दिर र एक विशाल त्रिशूल जसको उचाइ बादलले छेक्यो देखन सकिंदैन। त्यस बेला।

मन्दिर परिसर साँघुरो भएनि भक्तालुको भीड, मन्दिरको रहस्य विशाल थियो ? एक छेउमा बसिरहेका बा रक्षा सूत्र बान्दै मन्दिरको प्रसाद टीका लगाउँदै हुनुहुन्थ्यो। म नि टीका लगाउन गएँ।

यो मन्दिर को विशेषता के हो ? गुरु।

हजुर।

बाले सुनेनन्। निरन्तर बगेको हावाको वेग अघि मेरो स्वर सानो भयो बालाई। मैले पुनः भनें।

गुरु बाले दक्ष प्रजापतिको अग्निकुण्डमा हाम फालेसी सतीदेवीले आफ्नो शरीर त्याग्छे। पत्नी वियोगमा शिव हातमा सतीदेवीलाई लिंदै हिंड्नुभयो। र शिव नभई यो जगत्को कुनै अस्तित्व छ त ? ऊ पनि ममाथि प्रश्न गर्छ।

छैन।हो, त्यसैले सब भगवान् सङ्कटमा पर्नुभयो र विष्णुसमक्ष जानुभयो। विष्णु भगवान्ले कीरा, फटिङ्ग्रा बनाएर सतीदेवीको मृत शरीर गल्न थाल्यो र झर्न थाल्यो।

सतीदेवीको केसका लटा र त्यस स्थानमा खस्न पुग्यो र त्यस स्थानको नाम लटरमेश्वर महादेव हुन पुग्यो।

यो कुरा स्वस्थानीमा नि छ है ?

हजुर छ नि तिमीहरू अहिलेको पुस्ता पढेलेखेकाले यी कुराहरू चाँडै बुझ्छ।  अहिले त सबमा छ यो कुराहरू।

म हस् त बाजे हरि ॐ तत्सत् भन्दै त्यहाँबाट हामी पनि घरतिर लागेम्।

कति महत्वपूर्ण स्थलहरूमा लटरमेश्वर महादेव र दाता मर्दैछन्, सरकारको स्थानीय तह, मन्त्रालय तथा केन्द्रीय सरकारबाट आउने फन्ड कुर्दैछन्। संरक्षणको निमित्त।

लटरमेश्वर महादेव स्वदेशी मात्र हैन विदेशी पर्यटक कुर्दैछन् त्योभन्दा बढी उहाँ आफ्नै पत्नीको साथ कुर्दैछन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्