प्रस, वीरगंज, २० असार/

रौतहट जिल्ला, कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश, उपप्रमुख रीता देवी र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसमेत ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आव २०७८/७९ मा कटहरिया नगरपालिका–२ जमुनिया बजारमा रहेको अधूरो सामुदायिक भवनमा टायल्सको कामको लागि विनियोजित रकम अनुसार कमसल काम गरी अनियमितता गरेको आरोपमा अनुसन्धान गर्दा कम काम गरेर बढी भुक्तानी गरेको पाइएपछि सोविरुद्ध भ्रष्टाचारजन्य कसूरमा विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी गराएका छन्।

उनले यो घटनामा १२ लाख ५२ हजार ९४१ लागत मूल्यभन्दा बढी भुक्तानी भएको देखिएकोले सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम कैद र बिगो बमोजिम सजाय माग दाबी गरिएको बताए। अख्तियारले नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनीयर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्य समीरा विक्रम शाह, मनोज जयसवाल, इन्जिनीयर महम्मद मकसुद र बौधीमाई उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध आज मुद्दा दायर गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here