जय बोलो बेइमानकी

-कुमार रुपाखेती

एकपटक गुलजारले भनेका थिए– जोसँग पुरानो नोकर छ, पुरानो साथीले साथ छोडेको छैन, त्यो मान्छे सफल र भाग्यमानी हो। नयाँ नौ दिन, पुराना सौ दिन त्यसै भनिएको होइन।

तर नेपालको वर्तमान राजनीतिमा गुलजारको त्यो भनाइ मेल खाँदैन। अस्ति भर्खर प्रचण्डले वाम एकता पुनः द्रुत गतिमा अघि बढिरहेको बताउँदै गर्दा उनकै सत्ताका सहयात्री एमालेले लोप्पा खुवाउँदै काङ्ग्रेस मेरा दोस्त, दोस्तको सलाम करो भन्न थालेका छन्। झन्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारलाई राइछिया गर्दै छिःछिः दूरदूर गराउने ओली र प्रचण्डको रवैयाले विश्वसामु नेपालको नाक कटाउँदै आएको सर्वविदित नै छ। छिनछिनमा सत्ता सहयात्रीलाई बीच मझदारमा छाड्ने, प्रधानमनत्री बन्न षड्यन्त्र गर्ने, सङ्घीय सरकारप्रति वितृष्णा फैलाउने अनि सातवटै प्रदेश सरकारलाई अस्थिर बनाउने यिनको घिनौना प्रवृत्तिले मुलुक र जनता आजित छन्। केन्द्रमा काङ्ग्रेस र एमाले मिल्ने हल्ला चलेपछि प्रदेश सरकारहरू हल्लिन थालिसके। सङ्क्षेपमा भन्ने हो भने अस्थिरताको कारण नै सत्तालिप्सामा सक्रिय ठूला राजनीतिक दल नै हुन्। सबैलाई थाहै छ, काङ्ग्रेस र एमालेको न विचार मिल्छ, न आचरण तर सत्ताका लागि काले कालो मिलेर खाउ भाले र लुट कान्छा लुटका सम्बन्धमा यिनको विचार समान छ। न कुनै सीप छ, न कुनै उद्योग र व्यापार तर पनि ठूला दलका ठूला नेताहरू अर्बपति, खर्बपछि छन्। राजनीति भनेको ठगीखाने भाँडो र कमाइदार व्यापार बनेको छ यिनको लागि। ठूलठूला लुटकाण्ड र भ्रष्टाचार दबाउन सत्ता फेरबदलको खेल बहुदल भित्रिएदेखि नै अविरलमा धडल्लेले चल्दै आएको छ।

जुन जोगी आए पनि कानै चिरेको जस्तो उराठलाग्दो अवस्था भएकोले इमानदारहरू पाखामा र बेइमान काखामा पोसिंदै आएका छन्। संविधान अनुसार एउटा संसद्को कार्यकाल पाँच वर्षे भए तापनि आप्mनो गौरव पूरा गर्न यिनीहरू घरी यता घरी उता चहार्दै महत्वपूर्ण समय खेर फाल्ने, पटकपटक प्रधानमन्त्री बन्ने दाउपेचमा समय खर्चिने गरेका छन्, जसले गर्दा पापी पेटका सवाल है भन्दै जनता मुलुक छोड्न बाध्य छन्। यिनका लोभी पापी प्रवृत्तिका अगाडि जनताका जल्दाबल्दा समस्या र मुलुकको राष्ट्रियता पुड्को साबित हुँदै गएको छ। हिन्दी सिनेमामा एउटा गीत छ– जय बोलो बेइमानकी जय बोला। हामी पनि बेइमानको जयजयकार गर्न विवश छौं।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्