संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापकीय, संस्थागत र कानूनी सुधारका लागि पहल भइरहेको बताएका छन्।
राष्ट्रियसभाको बिहीवारको बैठकमा विनियोजन विधेयक २०८१ माथि उठेका प्रश्नहरूको जवाफ दिंदै उनले निगमको सञ्चालन र व्यवस्थापनमा सुधार गर्न गठित समितिको प्रतिवेदन अनुसार उपयुक्त ढाँचामा सञ्चालनका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको जानकारी दिए। मन्त्री तामाङले निगमको व्यवस्थापन सुधारका लागि मन्त्रालयले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको समितिको प्रतिवेदनअनुरूप काम गर्न लागिरहेको बताए।
पर्यटनमन्त्री तामाङले क्षेत्रीय सन्तुलनलाई ध्यानमा दिएर मन्त्रालयले कार्यक्रमको माग, औचित्य र आवश्यकताका आधारमा बजेट तर्जुमा गरिएको बताए। उनले संवैधानिक व्यवस्थाअनुरूप समावेशीरूपमा सबै भाषा र संस्कृतिको विकास गर्नु आवश्यक रहेको बताए। संस्कृत भाषाको संरक्षण र प्रवद्र्धन गर्ने विषयमा मन्त्रालयले आवश्यक नीतिगत व्यवस्था गरेको भन्दै मन्त्री तामाङले नेपालका सबै भाषा, संस्कृति र कलाको संरक्षण र प्रवचनतर्फ मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापनका लागि निर्देशिका जारी गरिएको तथा पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न मिल्ने नमिल्ने विषयमा मन्दिरको परम्परालाई समेत आधार मानेर आवश्यक निर्णय गरिने बताए।
धार्मिक पर्यटनको हिसाबले अत्यन्त महत्वपूर्ण लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ र रामजानकी मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि मन्त्रालयले बजेट व्यवस्थापन गरेको तथा रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्नेलगायतका कार्यक्रम यस वर्षको बजेटबाट अघि सारिएको उल्लेख गरे।
भारतरचीनमापर्यटनप्रवद्र्धन
पर्यटनमन्त्री तामाङले भारत र चीनका पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट ‘रोड शो’लगायतका प्रचारप्रसारका कार्यक्रम सञ्चालनमा ल्याइने बताए। उनले पर्यटन रणनीतिक योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकअनुरूप १६ लाख पर्यटन भिœयाउने लक्ष्यलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। लुम्बिनी विकास कोषलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा विकास गर्ने व्यवस्था मिलाइएको उनले बताए।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बुद्ध सर्किट मात्र नभई किराँत, शिव र रामायण सर्किटको विषयमा समेत समावेश गरिएको उनको भनाइ थियो। अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा पर्याप्त बजेट विनियोजन गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए।
कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोमा पेश भइसकेको, यस क्षेत्रको अन्य सम्पदाको उत्खनन, विकास र उन्नयनमा पुरातत्व विभागमार्फत विभिन्न कामहरू भइरहेको उनले जानकारी दिए।
मन्त्री तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि मन्त्रालयले यसको सञ्चालनसम्बन्धी अध्ययन समिति गठन गरिएको र उक्त समितिको अध्ययन प्रतिवेदनको आधारमा ठोस कार्ययोजना बनाइ सञ्चालनको उचित प्रबन्ध मिलाइने बताए।
मन्त्री तामाड्ढा अनुसार हिमाल आरोहणलाई व्यवस्थित र नियमन गर्नेसम्बन्धी नयाँ नियमावली तर्जुमाका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ। नेपालको हवाई सेवालाई सुरक्षित, भरपर्दाे, विश्वसनीय, सुलभ र पहुँचयोग्य बनाउने हवाई नीति, २०६३ को समसामयिक संशोधन अन्तिम चरण पुगेको छ। सातवटै प्रदेशका प्रमुख शहरमा हवाई सेवा विस्तारलाई ध्यान दिइनुका साथै गोरखा दरबारको परम्परा र संस्कृति संरक्षणको विषयमा मन्त्रालय प्रतिबद्धताका साथ लागेको उनको भनाइ छ।