यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ। बिहीवार नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार ११९ दशमलव ६९ अङ्कमा कायम भएको हो।
आज ३१३ कम्पनीका दुई करोड २१ लाख ६७ हजार ६७९ कित्ता शेयर ८४ हजार १२६ पटक खरीद–बिक्री हुँदा रु छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको कारोबार भएको छ।
आज वित्त समूह शून्य दशमलव ५९ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले घटेका छन् भने अरू सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक तीन दशमलव ४३ प्रतिशतले बढेको छ।
बैंकिङ शून्य दशमलव ४८, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत् शून्य दशमलव २२, लगानी एक दशमलव ८९ र जीवन बीमा एक दशमलव ९७ प्रतिशतले बढेका छन्। त्यसैगरी, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव २४, निर्जीवन बीमा शून्य दशमलव ५८, व्यापार शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव १५ प्रतिशतले बढेका छन्।
आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव ७५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३० करोड नौ लाख चार हजार ६९४ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआइसी एशिया ब्यालेन्स फन्डको ३५ लाख एक हजार दुई सय कित्ता शेयर किनबेच भएका छन्।