अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न रु चार करोड ३४ लाख बजेट

काठमाडौं, २० असार/रासस

युवा तथा खेलकूदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौं एशियन इन्डो मार्शल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी गर्न रु चार करोड ३४ लाख विनियोजन गरिएको बताएका छन्।

राष्ट्रियसभाको बिहीवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करीब दुर्ई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण दिइने बताए। उनले ती प्रशिक्षणको तयारी गर्न रु चार करोड ३४ लाख विनियोजन गरिएको जानकारी दिए।

मन्त्री श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउन रु दुई करोड ९० लाख विनियोजन गरिएको उल्लेख गरे। बाघचाल, डन्डिबियो र घोडचढीलगायत मौलिक एवं परम्परागत खेलकूद प्रतियोगिताको विकासका लागि रु ११ लाख बजेट विनियोजन गरिएको उनले संसद्मार्फत जानकारी दिए।

मन्त्री श्रेष्ठले खेलकूदका माध्यमबाट पर्यटनको विकास र विस्तारका लागि विभिन्न ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको भन्दै जुम्लाको पातारासीमा स्वदेशी तथा विदेशी खेलाडीलाई तालीममा आकर्षित गर्न तथा ‘हाइअल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण गर्न रु चार करोड विनियोजन गरिएको उल्लेख गरे।

दोलखाको शैलुङमा तेक्वान्दो खेलको हाइअल्टिच्युड ट्रेनिङ कभर्डहल निर्माण गर्न रु दुर्ई करोड विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताए। उनले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्न रु चार करोड ३५ लाख बजेट विनियोजन गरिएको भन्दै आगामी वर्षदेखि पदक जितेर आउनेबित्तिकै खेलाडीको बैंक खातामा पुरस्कारबापतको रकम जाने व्यवस्था मिलाइएको जानकारी दिए।

  मन्त्री श्रेष्ठले आगामी वर्ष खेलकूद पूर्वाधार गर्न मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फल्ड लाइट’ जडान, खेलाडी ‘फिटनेस’ हल तथा सामग्री व्यवस्था, हाई अल्टिच्युट ट्रेनिङ सेन्टर र खेलकूद तालीम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार मन्त्रालयले रङ्गशालाको स्तरोन्नतिका लागि रु एक करोड बजेट विनियोजन गरेको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्