काठमाडौं, २० असार/रासस
काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजना अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ। कुल एक हजार ६१२ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग बिहीवार छिचोलिएको हो।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको सुरुङमार्ग छिचोल्ने कार्यको प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट अवलोकन गरे।
उनले तोकिएको समयमैं सुरुङमार्ग छिचोलिएकोमा खुशी व्यक्त गरे। साथै उनले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिलाई धन्यवाद दिए।
उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्नसमेत निर्देशन दिए। उक्त कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको सहभागिता थियो।