नेपाल भलिबल सङ्घले काभा यू–२० महिला भलिबल च्याम्पियनशिपमा सहभागी हुने टोली घोषणा गरेको छ।
टोलीमा बाग्मती प्रदेशका छ, लुम्बिनी प्रदेशका चार तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान एक/एक खेलाडी गरी १२ सदस्य छनोट भएको नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए।
टोलीमा बाग्मतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढामगर र भावना तामाङ रहेका छन्। यस्तै, लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मीना सुनार र आरती चौधरी तथा सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना र गण्डकीबाट आशिका क्षेत्री टोलीमा समेटिएका छन्।
टोलीको मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुनमगर रहेका छन्। प्रतियोगिता यही असार ३१ देखि साउन ९ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ।