हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ। हेटौंडा–४ स्थित रजतजयन्ती र हेटौंडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो। शहरी विकास मन्त्रालय अन्तर्गत एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रममार्फत ती दुवै सडकलाई नमूना सडकको रूपमा निर्माण गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्।
शहरी विकास मन्त्रालय अन्तर्गतको एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौंडा–४स्थित रजतजयन्ती मार्गको करीब एक किलोमिटर सडक तथा हेटौंडा ७ र ८ जोड्ने कर्नाबत्ती मार्गलाई स्मार्ट लाइट, फूटपाथ, नालासहित नमूना सडकको रूपमा निर्माण गरिने उनले बताइन्।
सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले ती दुवै सडकलाई फराकिलो बनाइ नमूना सडकको रूपमा स्तरोन्नति गर्ने काम अघि बढाएको उनले बताइन्। रजतजयन्ती मार्गलाई चार लेनको सडकको रूपमा विकास गर्दै दुवैतर्फ फूटपाथ, बेरियर, सडकबत्तीसहित अक्सपाल्ट पिच गरिने र क्याक्पाडाँडा पुलदेखि हेटौंडा–१५ तीनकुने चोकसम्मको कर्णबत्ती मार्गको डेढ किलोमिटर सडकलाई दायाँबायाँ साढे सात मिटर चौडा गरिने योजना रहेको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताए।
सङ्घीय सरकारको विनियोजित रकमबाट यी दुई सडक तथा हेटौंडा–६ को वडा कार्यालय भवनसमेत निर्माण गरिने उनले जानकारी दिए। तीनवटै योजना आगामी १८ महीनामा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजना प्रमुख थापाको भनाइ छ। नमूना सडक निर्माणले हेटौंडाको पहिचान बढाउन मदत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बताए। यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेको विकास काम प्रत्यक्षरूपमा अनुभूति गर्ने र आगामी दिनमा नगर क्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउन सकिने उनले बताए।