तपस्वी भएको दाबी गर्दै आएका बाराको साबिक रतनपुरी गाविस–५ हाल निजगढ नगरपालिका–१२ बुुङ्जोरका रामबहादुुर भनिने रामलाल बमजनलाई यौन सन्तुष्टि प्राप्त गर्न बालयौन दुराचारको कसूरमा दोषी ठहर गर्दै १० वर्ष कैद सजायसहित पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सोमवार सर्लाही जिल्ला अदालतले गरेको छ।
यही असार १० गते सोमवार जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आरोपी बमजनलाई दोषी ठहर गरेसँगै आज १७ गते सोमवार न्यायाधीश भण्डारीको इजलासले सोही सजाय र क्षतिपूर्ति भर्न आदेश गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सुुदन अधिकारीले बताए।
बमजनमाथि सर्लाहीकी रीता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सञ्चमान वाइवा र बाराका सुुरेश आलेमगरलाई बेपत्ता पारेको अभियोग पनि लागेको थियो। बमजनका अनुयायी रही वर्षौंदेखि आश्रममा रहँदा उनीहरू सबैलाई सिन्धुुलीस्थित पहिरे डाँडा आश्रमबाट बेपत्ता बनाइएको प्रहरीले जनाएको छ।
बमजनको आश्रममा लामो समयदेखि बस्दै आएकी १८ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको भन्दै सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। आरोपित बमजनलाई जारी भएको पक्राउ पुर्जी २०७७/०७/२४ गते उनको निजगढ नपा–१२ बुङ्जोरस्थित घरमा प्रहरीले टाँस गरेको थियो।
सर्लाहीस्थित बमजनको आश्रममा बालयौन दुुराचार भएको जाहेरी परेको थियो। २०७६ भदौ ३० गते महिला अधिकारकर्मीको सहयोगमा आफू बमजनको आश्रममा बमजनद्वारा नै पटकपटक बलात्कृत भएको १८ वर्षीया एकजना अनुयायीले ललितपुरमा पत्रकार सम्मेलन गरी खुलासा गरेकी थिइन्।
बमजनविरुद्ध उजूरी परेसँगै २०७६ सालदेखि प्रहरीको खोजी सूचीमा रहेका उनलाई सिन्धुलीस्थित पहिरे डाँडामा रहेको उनको विशाल आश्रममा पटकपटक घेराहाली छापा मारे पनि फेला परेका थिएनन्। उनलाई २०८० पुुस २४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंस्थित घरबाट पक्राउ गरेको थियो। प्रहरीको विशेष सुरक्षाका साथ उनलाई महोत्तरीको जलेश्वरस्थित कारागारमा राखिएको थियो।
२०६२ जेठ २ गते बाराको रतनपुरस्थित कल्की सामुदायिक वन उपभोक्ता समूहको पाँच हेक्टर वन क्षेत्र र बाराको राष्ट्रिय वन क्षेत्रको कोर एरियास्थित हलखोरिया वन क्षेत्रमा दुई सय हेक्टरभन्दा बढी राष्ट्रिय वन क्षेत्रमा कब्जा जमाउँदै आएका थिए। किर्ते जन्मदर्ता बनाइ धर्मसङ्घ बमजनको नाउँमा रातो पासपोर्ट राज्यले उपलब्ध गराउनुपर्ने माग राख्दै उनका अनुयायीहरूले त्यस बेला राजमार्गको बारास्थित पसाहा पुलमा सडक अवरुद्ध गरेसँगै बाराका वन सुरक्षाकर्मी र प्रहरी प्रशासनले बलपूर्वक हटाएका थिए। उनले त्यस बेला बाराको बरियापुरस्थित पञ्चवर्षीय विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दिइने पशुुबलि रोक्न स्वयम् आफू उपस्थित हुने बताए पनि गढीमाईमा देखा परेनन्।
त्यसपछि बमजन तीन महीनापछि एक युवतीसहित पूर्व–पश्चिम महेन्द्र राजमार्गको १६ किलोमिटर सडकमा रातको करीब ८:१५ बजे पश्चिमबाट पूर्व निजगढतर्फ पैदल आइरहेका थिए। गस्तीमा रहेका इलाका प्रहरी कार्यालय, निजगढका तत्कालीन प्रहरी निरीक्षक रवि रावलको कमान्डमा रहेका सुरक्षाकर्मीले युवतीलाई पहिलो तपस्यास्थल रतनपुर र बमजनलाई दोस्रो तपस्यास्थल हलखोरियामा छोडेको थियो।