प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको संस्थागत विकासका लागि खेलकूद प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
प्रकाश दाहाल फाउन्डेशन र नेपाल बक्सिङ महासङ्घको संयुक्त आयोजनामा सोमवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरू भएको प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पु–याउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तीको अवसर पारेर आयोजित प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसूस गरेको बताए।
प्रकाश दाहाल फाउन्डेशनकी अध्यक्ष बिना मगरले यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने भन्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र पुरुषलाई सम्मानस्वरूप एक थान मोटरसाइकल प्रदान गरिने बताइन्।
राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले दिवङ्गत प्रकाश दाहालले देशको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै यस किसिमको प्रतियोगिताले बक्सिङ खेलबाट राष्ट्रिय टोलीको निर्माण गर्न योगदान पुग्ने बताए।
आजदेखि शुरू भएको उक्त प्रतियोगितामा महिला तथा पुरुष गरी दुई सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ।