इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतवार भएको ड्रोन आक्रमणमा परी १८ जना इजरायली सैनिक घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको इजरायली रक्षा बल (आइडिएफ)ले जनाएको छ।
आइडिएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गोलान हाइट्सको उत्तरी क्षेत्रमा आक्रमण भएको थियो, यद्यपि ड्रोन कताबाट आएको थियो भन्नेबारे केही बताइएको छैन।”
घाइते सैनिकहरूलाई तत्काल उपचारका लागि नजीकैको अस्पतालमा लगिएको छ।प्रतिक्रियामा इजरायली वायुसेनाले आइतवार राति दक्षिणी लेबनानको हिजबुल्लाह शिविरलाई लक्षित गरी आक्रमण गरेको छ।
आक्रमणमा मर्काबानजीकैको हिजबुल्लाह अवलोकन चौकी र आयता एस शाबनजीकैको उत्तरी इजरायलतर्फ मिसाइल प्रक्षेपण गर्न प्रयोग गरिएको लन्चरस्थलमा प्रहार गरिएको इजरायली सेनाले बताएको छ।
पछिल्लो घटनाले इजरायल र लेबनानको सशस्त्र समूह तथा राजनीतिक दल हिजबुल्लाहबीच सन् २०२३ को अक्टोबरदेखि जारी सीमापार हिंसाको निरन्तरतालाई सङ्केत गरेको छ। रासस