एमालेको महाधिवेशन चितवनमा अध्यक्ष पदमा ओलीसँग भिड्ने भीम रावलको हबिगत सबैलाई थाहै छ। ओलीसँग भिड्न भीम रावललाई उक्साउनेहरू रावललाई बलिको बकरा बनाएर ओलीको झोला बोकेर हिंडेको पनि सबैलाई थाहै छ। ज्येष्ठ नागरिक ओली अझैं २० वर्ष अध्यक्ष बनिरहने सन्देश दिन्छन् भने शारीरिकरूपमा अरूको सहाराविना मञ्चमा उक्लन सक्दैनन्। भोलि फेरि अर्को भीम रावल जन्मेला कि भन्ने त्रासले उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलहरूलाई तर्साउन पूर्वराष्ट्रपति विद्या भण्डारीको बुख्याचा देखाइरहन्छन्। पार्टीको उपाध्यक्ष रहेकै बेला ओलीको कृपाले विद्यादेवी भण्डारी दुईपटक राष्ट्रपति बनिन्।
त्यतिखेर पनि राष्ट्रपति पदका लागि झलनाथ खनाल र दिवङ्गत सुवासचन्द्र नेम्वाङहरूले चाहना देखाएका थिए तर ओलीका डरले आआफ्नो चाहना दबाउन विवश थिए। भर्खरै जुँगाको रेखी बसेको उरन्ठेउलो केटाको बोलीचाली र ८० दशक पुग्न लागेको ओलीको क्रियाकलाप उस्तैउस्तै हो रे। राजा महेन्द्रले ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्थे ओलीको कथनी र करनी दुवै ‘एमाले डुबे पनि म पौडी खेल्न पाइरहूँ’ जस्तै छ। मुलुकको हितसँग त ओलीको टाढाको पनि साइनो देखिंदैन। एमाले पतनोन्मुख हुँदासमेत उनी आफ्ना प्रतिद्वन्द्वी सहकर्मीहरूलाई ठेगान लगाउनमैं रमाएका देखिन्छन्। माधव नेपाल, झलनाथ, वामदेव, भीम रावल, घनश्याम भुसाल सबै ओलीको शिकार बने। लाखापाखा लागे र उनीहरूसँगै एमाले पनि जनताको बीचबाट किनारा लागिसकेको बुझिन्छ। प्रचण्डलाई तथानाम गाली गर्ने, भारतको दलाल भन्ने, मनुषमारा भन्ने ओली सत्ताका खातिर आज प्रचण्डकै नेतृत्वमा सरकारमा ‘तुमसे अच्छा कौन है’ भन्दै हिंडेको देख्दा ‘… लाई भन्दा देख्नेलाई लाज’ भइसक्यो।
ओलीसँग मिल्दोजुल्दो एउटा सायरी छ– उसी को जिनेका हक है, जो इस जमाने मे इधरका लगता रहे और उधरका हो जाए। आगामी महाधिवेशनमा सायद स्वास्थ्यले साथ नदिने चाल पाएका ओलीले सुरक्षाकवचका रूपमा र पार्टीभित्रका प्रतिद्वन्द्वीलाई आकारमा राख्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मात्र एमाले हाँक्न सक्ने र अध्यक्ष्Fको समेत दाबेदारको रूपमा कानेफुसी चलाउन थालेका छन्। उखानटुक्का मात्र होइन, कोठे राजनीति गर्नसमेत ओली अब्बल मानिन्छन्। भनिन्छ नि ‘सीसे कि अदालत मे पत्थरकी गवाही है, कातिल हि लुटेरा है, कातिल हि सिपाही है।’
ओलीको कथनी र करनीले एमालेभित्र भुसको आगो सल्किंदैछ। विभिन्न गुट, उपगुट, ओलीको चाहनाविपरीत अध्यक्ष पदको ताज खोस्न र ताजपोशी गर्न लालायित बुझिन्छन्। तर आगामी महाधिवेशनमा भीम रावल को बन्ने भन्ने अहम् प्रश्न र त्रास सँगसँगै उठेको पनि देखिन्छ। भन्छन् झूट बोलनेसे पाप लगता है और सच बोलनेसे आग …।
एमालेको अन्दरूनी कहानी यही नै हो। एक विश्वस्त सूत्रका अनुसार एमालेमा ओलीको जङ्गबहादुरशैली र उनका जङ्गे सेनाविरुद्ध भिड्न भित्रभित्रै एउटा ठूलो जत्था तैयार भइसकेको छ रे। इन्तजार त अब आगामी महाधिवेशनको छ रे। अर्थात् अबका दिनमा थुप्रै भीम रावल देखिनेछन्, एमालेमा। मेरो मनमा एउटा प्रश्न उठेको छ, त्यो के भने भोलिका दिनमा ओलीमय एमाले, भीम रावलमय एमालेमा कायापलट होला र ?