माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतीजा प्रकाशन भएको छ। यसपटक पर्सा जिल्लाबाट यो परीक्षामा ३४.४२ प्रतिशत विद्यार्थीहरू मात्र उत्तीर्ण भएका छन्। यो नतीजा सम्भवतः निकै कम हो। वीरगंज महानगरपालिकामा भने सामुदायिकभन्दा संस्थागत विद्यालयहरूको नतीजा उत्साहजनक देखिन्छ। सामुदायिक विद्यालयहरूबाट ३४.३७ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् भने संस्थागतबाट ९०.२६ प्रतिशत उत्तीर्ण भएका छन्। यसपटकको एसइईमा पर्सा जिल्लाबाट कुल नौ हजार ५२१ जना विद्यार्थी सहभागी थिए। उनीहरूमध्ये तीन हजार ४६८ जना मात्र उत्तीर्ण भए। महानगरबाट कुल पाँच हजार २३५ जना विद्यार्थी सहभागी थिए भने ५४.७६ अर्थात् दुई हजार ८६७ जना विद्यार्थी सफल भए। विद्यार्थीहरूको लागि सबैभन्दा कठिन परीक्षाको रूपमा एसइई रहँदै आएको छ। पछिल्लोपटक मावि तहको अन्तिम परीक्षाबाट हटाइको एसइई राष्ट्रिय परीक्षा बोर्डले लिंदै आएको छ। यसमा प्रदेशहरूको सहभागिता रहे पनि परीक्षाफल भने राष्ट्रिय परीक्षा बोर्डमैं केन्द्रित गरिएको छ। मावि तहको अन्तिम परीक्षाको रूपमा एसएलसीको धेरै महत्व थियो। फलामे ढोका भनिने एसएलसी परीक्षा उत्तीर्ण गर्नेहरू आफूलाई शौभाग्यशाली ठान्थे। आफ्ना सन्तानले एसएलसी उत्तीर्ण गर्नुलाई अभिभावकहरूले युद्ध जितेसरह ठान्थे।
एसएलसी उत्तीर्ण गरेको चर्चा उतिखेर गाउँटोल र उत्कृष्ट हुनेहरूको चर्चा देशभरि हुन्थ्यो। अनुत्तीर्ण हुनेहरूको लागि अर्काे वर्ष कुर्नुको विकल्प थिएन। परीक्षाको स्वरूप परिवर्तन हुँदै गयो, दुई विषयमा अनुत्तीर्ण भएकाहरूलाई अर्काे वर्ष सहभागी भएर परीक्षा दिनुपर्ने व्यवस्था गरिएको थियो। एक्जाम्टेड दिने परीक्षार्थी अर्काे वर्षको एसएलसीमा सहभागी हुन पाउँथे। एसएलसीको नाम परिवर्तनदेखि परीक्षा लिने शैली पनि परिवर्तन भएको छ। यस अघिसम्म एसइई ग्रेडिड्ढो हिसाबबाट लिने गरिन्थ्यो। ए प्लस, ए, बी प्लस, बी, सी प्लस र सी ग्रेडमा परीक्षाफल प्रकाशन गरिन्थ्यो। सी ग्रेडमा उत्तीर्ण गरेकाहरूलाई सरकारी क्याम्पसमा पनि सिफारिशको आधारमा भर्ना लिन थालिएपछि गत वर्षदेखि लेटर ग्रेडिङ परीक्षा अन्तर्गत परीक्षाफल प्रकाशनको नीति अवलम्बन गरिएको हो। लेटर ग्रेडिङ परीक्षा अन्तर्गत अब परीक्षार्थीहरूले सय अङ्कको सैद्धान्तिक परीक्षामा ३५ पूर्णाङ्क र प्रयोगात्मक परीक्षामा ४० अङ्क ल्याएकै हुनुपर्छ। पहिले दुवै गरेर सय पूर्णाङ्कको परीक्षामा ३५ अङ्क ल्याउनुपर्ने व्यवस्था थियो।
एसइईलाई अहिले सहज बनाउने प्रयास गरिंदै आए पनि विद्यार्थी र अभिभावकहरूबाट यसको भयलाई भने अहिलेसम्म हटाउन सकिएको छैन। केही प्रतिशत विद्यार्थीहरू र तिनका अभिभावकहरूले यो परीक्षालाई सामान्यरूपमा लिएका छन् भने अधिकांशले पुरानै एसएलसी सरह व्यवहार गर्दा विद्यार्थीहरूबाट पुरानो एसएलसीको भूत हट्न भने सकेकै छैन। वर्ष दिन पढेको पुस्तकबाट जसरी अन्य कक्षामा परीक्षा दिने गरिन्थ्यो सोही विधिबाट एसइई परीक्षा पनि दिने हो भन्ने कुरा विद्यार्थीहरूलाई बुझाउन सकिएको खण्डमा उनीहरूमा देखिने भयको वातावरणमा केही कमी आउने थियो। यसपटक एसइई अनुत्तीर्ण हुने सबैलाई साउन २३ गते समपूरक परीक्षा दिने अवसर जुरेकोले यो मौकाको फाइदा उठाउँदै विद्यार्थीहरू मेहनतका साथ सफल हुने प्रयासमा लाग्नुपर्छ।