ठोरी गाउँपालिकाले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका गापाका विद्यार्थीहरूलाई सम्मानित गरेको छ। गापाले सर्वाेत्कृष्ट नतीजा ल्याएका तीनजना विद्यार्थीसहित २०८० को आधारभूत तह कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय, तृतीय हुने र विद्यालयमा प्रथम हुने विद्यार्थीहरूलाई नगद पुरस्कार, स्टेशनरी सामग्री एवं सम्मानपत्रसहित सम्मान गरेको हो। गापाको सभाहलमा आइतवार आयोजित कार्यक्रममा पालिकाले विद्यार्थी सम्मान कार्यक्रम गरेको ठोरी गापा शिक्षा शाखा प्रमुख भुपालकुमार जोशीले बताए। पालिकामा एसइईमा प्रथम हुने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा एलिना श्रेष्ठ हुन्। उनले ३.५८ जिपिए ल्याएकी छन्।
त्यस्तै, नेपाल राष्ट्रिय प्राविधिक मावि दीपकनगरका छात्र कृष भण्डारीले ३.५२ जिपिए ल्याएर गापामा दोस्रो बने भने मावि विजयबस्तीका छात्र प्रशान्त श्रेष्ठले ३.३७ जिपिए प्राप्त गरी तेस्रो भएको जोशीले बताए। प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः नगद रु १० हजार, सात हजार र पाँच हजारसहित सम्मानपत्र तथा स्टेशनरी सामग्री प्रदान गरिएको जोशीले बताए। त्यस्तै, अन्य विद्यार्थीहरूलाई नगद रु एक हजार र दुई हजार, सम्मानपत्र र स्टेशनरी सामग्री प्रदान गरिएको थियो। ठोरी गापाबाट ४० जना विद्यार्थीले एसइई उत्तीर्ण गरेका छन्।
त्यस्तै, २०८० को वार्षिक परीक्षामा आधारभूत तह कक्षा ८ मा गापाले सञ्चालन गरेको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने सरस्वती मावि गौतमनगरका छात्र अंशु खनाल, छात्रा अपेक्षा रिजाल र छात्र अञ्जन अर्याललाई क्रमशः रु पाँच हजार, तीन हजार, दुई हजार तथा सम्मानपत्र एवं स्टेशनरी सामग्री प्रदान गरिएको ठोरी गापाले जनाएको छ। आधारभूत विद्यालयबाट प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि नगद, सम्मानपत्र र स्टेशनरी सामग्री प्रदान गरिएको पालिकाले जनाएको छ।
पुरस्कार प्रदान गर्दै ठोरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीलाई शैक्षिक नगरी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे।
उनले समग्र शिक्षाको विकासका कार्यक्रममा पालिकाले प्राथमिकताका साथ काम गरिरहेको हुँदा सबैलाई सकारात्मक हुन आग्रह गरे। पालिकाले शुरूदेखि नै निश्शुल्क शिक्षा प्रदान गर्दै विद्यालयहरूलाई अनुदान दिंदै आएकोले यसको फलको अपेक्षा आफूले राखेको हुँदा परिणाममुखी शिक्षा प्रदान गर्न आग्रह गरे। कार्यक्रममा ठोरी गापा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्षहरू अमृतकृष्ण सापकोटा, मानबहादुर थिङ, ओडार माविका विव्यस अध्यक्ष मणि घिमिरे, प्राविधिक माविका अध्यक्ष जगेन्द्र पौडेल, सरस्वती माविका प्रधानाध्यापक कृष्णप्रसाद पौडेल, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठलगायतले विद्यार्थीहरूलाई बधाई, शुभकामना दिएका थिए। कार्यक्रमको सहजीकरण पालिकाका कर्मचारी हेम चापागाईंले गरेका थिए।