रोहित शर्माको भारतीय टोलीले दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकपको उपाधि जितेको छ।
सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि भारतले बार्बाडोसमा भएको फाइनलमा सात रनको रोमाञ्चक जीत निकाल्दै शनिवार रातिको खेलमा उपाधि जितेको हो।
जीतपछि भारतको नीलो जर्सी लगाएका समर्थक खुशीको आँसु झार्दै फाइनल खेल भएको खेलमैदानमा नाचेका दृश्य मनमोहक देखिन्थ्यो। भारतले पछिल्लोपटक सन् २०११ मा घरेलु मैदानमा महेन्द्र सिंह (एमएस) धोनीको कप्तानीमा विश्वकप जितेको थियो। धोनीले सन् २००७ मा पहिलो संस्करणमा टीमलाई टी–२० विश्वकपको ट्रफी दिलाएका थिए।
स्टार ब्याट्सम्यान विराट कोहलीले ५९ बलमा ७६ रन बटुल्दै भारतका लागि सात विकेटको क्षतिमा १७६ रन समेटेका थिए। बेल्जियमबाट दिल्ली भ्रमणमा रहेका ३४ वर्षीय सफ्टवेयर व्यवसायी अभिषेक भगतले एएफपीसँग भने–“यो विश्व बाहिरको अनुभूति हो।” मैले सन् २००७ मा बाल्यकालमा यो अनुभव गरेको थिएँ। त्यसपछि सन् २०११ मा र अहिले फेरि सन् २०२४ मा पनि भारतले जितेको छ। यो लामो प्रतीक्षापछिको जीत हो।”
शनिवारको खेलमा ‘म्यान अफ दी म्याच’ उपाधि पाएका ३५ वर्षीय कोहलीले भाषणमा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्न्यास लिएको घोषणा गरेका छन्। कप्तान रोहितले पनि कोहलीको घोषणालगत्तै भारतका लागि टी–२० म्याचबाट सन्न्यास लिने घोषणा गरे।
पहिलोपटक विश्वकपको फाइनल खेलेको दक्षिण अफ्रिका, अन्तिम पाँच ओभरमा ३० रन चाहिएको अवस्थामा, लक्ष्य भेटाउन तयार देखिए पनि भारतीय बलर उपाधिका लागि खेललाई आप्mनो पकडमा राख्न सफल भएका थिए।
गुयानामा भएको सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई पराजित गरेको थियो।
रोहितले सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करण भारतका लागि खेलेका थिए भने कोहली सन् २०११ मा धोनीको कप्तानीमा एक दिवसीय विश्वकप उपाधि जितेको बेला खेलेका थिए।
त्यसको दुई वर्षपछि धोनीको टीमले ५० ओभरको च्याम्पियन्स ट्रफीको फाइनलमा आयोजक इङ्ल्यान्डलाई हराएको थियो तर अर्को ठूलो उपाधिका लागि ११ वर्ष कुर्नुपरेको थियो। भारत सन् २०१९ को एक दिवसीय विश्वकप र सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनलमा पराजित भएको थियो। रासस