इरानी राष्ट्रपतीय निर्वाचनमा पेजेस्कियानलाई ४२.४ र जलिलीलाई ३८.६ प्रतिशत मत प्राप्त

तेहरान, १६ असार/एएफपी

इरानमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय चुनावमा एकमात्र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानले कट्टरपन्थी सइद जलिलीभन्दा करीब चार प्रतिशत बढी मत ल्याउन सफल भएका छन् ।

पहिलो चरणको निर्वाचन यही जून २८ गते सम्पन्न भएको थियो ।

निर्वाचन अधिकारीका अनुसार पेजेस्कियानले ४२.४ प्रतिशत मत प्राप्त गरेका छन् भने पूर्व आणविक वार्ताकार जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गरे । यो राष्ट्रपति निर्वाचनका लागि चाहिने आवश्यक बहुमतभन्दा कम हो ।

त्यसैगरी, सभामुखबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएका मोहम्मद बघेर गालिबाफले १३.८ प्रतिशत मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार मुस्तफा पौरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन् ।

इरानी संविधान अनुसार राष्ट्रपतिका लागि कुनै पनि उम्मेदवारले बहुमत (५० प्रतिशत वा योभन्दा बढी) मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

शनिवार पहिलो चरणको निर्वाचन परिणाम घोषणा गर्दै निर्वाचन आयोगका प्रवक्ता मोहसेन इस्लामीले भने, “पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले पूर्ण बहुमत प्राप्त गर्न नगरेको र दोस्रो चरणको निर्वाचन पूर्वनिर्धारित कार्यक्रम अनुसार जुलाई ५ मा हुनेछ ।”

चुनावपछिको आफ्नो पहिलो टिप्पणीमा पेजेस्कियानले आफ्ना समर्थकलाई धन्यवाद दिंदै आगामी शुक्रवार फेरि मतदान गरी देशलाई गरीबी, झूट, भेदभाव र अन्यायबाट बचाउन आग्रह गरेका छन् ।

सुधारवादी समूह निकट मानिने पत्रिका इटेमादको वेबसाइटमा प्रसारित एक भिडियोमा उनले भने, “तपाईंको उपस्थितिले मनोवृत्ति, व्यवहार, वार्तालाप र स्रोतहरूको वितरण र बाँडफाँडमा परिवर्तनको लागि नयाँ आवाजको आधार बन्नेछ भन्ने मलाई पूर्ण आशा छ ।”

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले शुक्रवार हुने मतदानमा उच्च सहभागिताका लागि आह्वान गरेका छन् ।

निर्वाचनमा छ करोड १० लाख मतदातामध्ये ४० प्रतिशतभन्दा केही बढीले मात्र भाग लिएका थिए । इस्लामिक गणतन्त्र इरानका लागि यो इतिहासमा नै सबैभन्दा कम मतदान प्रतिशत थियो । मतदानमा १० लाखभन्दा बढी मत बदर भएका छन् ।

यो निर्वाचन सन् २०२५ मा हुने तय भएको थियो तर गत महीना हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको निधन भएपछि यो निर्वाचन अघि सारिएको थियो । रासस

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्