वासुदेव पौडेल

गण्डकी, १६ असार/रासस

पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो ।

तालैतालको शहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा बर्सेनि झन्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरियालगायतका देशबाट आउने गरेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

प्रत्येक वर्षको हिउँद र वर्षात्का समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उनले जानकारी दिए । “विशेषगरी हिउँदको समयमा शिकारी प्रजातिका चरा पोखराका तालतलैयामा देख्न सकिन्छ, वर्षात्को समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ,” उनले भने, “साइबेरियालगायत टाढाटाढा विदेशी मुलुकबाट आएका चरा केही समय बिताएर फर्कने गरेका छन् ।”

पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रूपाताल पनि हो । सुन्दा अचम्म लाग्न सक्ला तर रूपातालले बर्सेनि झन्डै रु ५० लाख बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ । साबिक लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भागले छोएको यस तालमा प्रत्येक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले रु ५० लाखभन्दा बढीको माछा खाएर जाने गरेको रूपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए ।

“विशेषगरी पुस/माघको समयमा करीब तीन महीना साइबेरियालगायत स्थानबाट रूपातालमा आउने करीब २५० सङ्ख्याका जलेवाको आहारा माछा नै हो,” उनले भने, “सामान्यतः एउटा जलेवाले दिनभरिमा आधा किलोसम्म माछा खाने गर्छ ।”

रातको समयमा ताल आसपासको जङ्गलमा बस्ने जलेवा बिहान सूर्योदयदेखि सूर्यास्तसम्म तालमा नै रहने र माछा खाने गरेको उनले जानकारी दिए । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिंदै आइएको उनले जानकारी दिए ।

सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट तालको संरक्षण र उपयोगमा जोड दिइएको बताउँदै उनले हाल सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेको बताए । सहकारी अन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगार दिन सकिएको सहकारीले जनाएको छ ।

सहकारीले वार्षिक करीब रु दुई करोड बराबरको माछा उत्पादन गर्न सफल बनेको जनाउँदै उनले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत जातका माछा उत्पादन हुने गरेको बताए । उनका अनुसार तालमा करीब २४/२५ स्थानीय जातका माछा रहेका छन् । रूपाताल पछिल्लो समयमा जलचर, वन्यजन्तु, पर्यावरण अध्ययन अनुसन्धान गर्ने खुला पाठशाला जस्तै बनेको जनाउँदै उनले बर्सेनि करीब २५ राष्ट्रबाट अध्ययन अनुसन्धानकर्ता आउने गरेका जानकारी दिए ।

रूपातालमा उत्पादित माछाको बजारका लागि कुनै समस्या नरहेको सहकारीका कर्मचारी रामजी अधिकारीले बताए । रूपातालको माछाको माग बढिरहेको जनाउँदै अधिकारीले मागबमोजिम पु¥याउन धौधौ हुने गरेको अनुभव सुनाए ।

तालको संरक्षण र विकासका लागि रूपाताल संरक्षण एकीकृत विकास परियोजनामार्पmत पूर्वाधार विकासका काम भइरहेका छन् । परियोजना लक्षित काम सम्पन्न भएसँगै तालको संरक्षण, पर्यटकीय विकास हुँदै स्थानीयको जीवनस्तर बढ्ने विश्वास लिइएको छ ।

चरणबद्ध अघि बढ्ने परियोजनाको लागत रु चार अर्ब ५२ करोड ८८ लाख रहेको परियोजनाका सूचना अधिकारी इन्जिनीयर कृष्णबहादुर विकले जानकारी दिए । उनका अनुसार परियोजना अन्तर्गत जग्गा अधिग्रहणका लागि ९९५ रोपनी जग्गाको सूचना निकालिएकामा हालसम्म ९८७ रोपनी क्षेत्रको मुआवजा वितरण गरिसकिएको छ ।

मुआवजा वितरणका साथै तालबेंसीको पुल निर्माण भइसकेको छ भने सडक निर्माण पनि सम्पन्न भइसकेको छ । हाल बाँध निर्माणको काम अघि बढेको उनले जानकारी

दिए । बाँध निर्माण भएपछि हाल रहेको पानी सतह ६२० मिटरबाट बढेर ६२४ मिटर हुने र तालको क्षेत्रफल हालको १२२ हेक्टरबाट बढेर १८३ पुग्ने उनले जानकारी दिए । लक्षित योजना अनुसारको परियोजना सम्पन्न भएसँगै त्यसले तालको संरक्षण र यससँग जोडिएका जैविक विविधता, जलमा आश्रित जीवजन्तुको संरक्षण आदिमा महŒवपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

रूपातालको जलाधार क्षेत्र आसपासका जङ्गललाई समेटेर खुला चिडियाखाना सञ्चालनमा आउनुले पनि यस क्षेत्रको संरक्षण र विकासमा थप योगदान पुग्ने देखिएको छ । पचभैया प्राणी उद्यान केन्द्रका रूपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणा अनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा साबिक लेखनाथ नगरपालिकाका वडा नं ११, १२ र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चीसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो । यहाँको १३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको छ ।

चिडियाखाना परिसर एवं रूपाताल क्षेत्रमा ४५० प्रजातिका जीवजन्तु तथा ३६१ प्रजातिका वनस्पति, १७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै, रूपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् ।

यहाँ आउने पर्यटकले यहाँबाट रूपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।

रूपातालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रूपातालमा पनि मोती उत्पादन गर्ने सोच अघि बढाइएको सहकारीका अध्यक्ष अधिकारीले बताए । उक्त विषयलाई हाल परीक्षणका रूपमा अघि बढाइएको बताउँदै उनले परीक्षण सफल भएसँगै मोतीखेतीसमेत गरिने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here